Skip to main content

रास्वपा महाधिवेशन प्रतिनिधिहरूलाई आज साँझसम्म मात्र खाना, भोलिदेखि आफ्नै व्यवस्थापन गर्नुपर्ने

११ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई आज साँझसम्मको खाना पार्टीले व्यवस्थापन गरेको छ। भोलिदेखि प्रतिनिधिहरूले खाना र खाजाको व्यवस्थापन आफैं गर्नुपर्नेछ। असार ७ गतेदेखि सुरु भएको महाधिवेशन असार ९ गते सकिने भनिए पनि दुई दिन पछि सरेको छ। सुरुमा असार ८ र ९ गतेको खाना र खाजाको व्यवस्था गरिएको थियो भने महाधिवेशन लम्बिएपछि असार १० र ११ गतेको पनि व्यवस्था गरिएको थियो।

‘आज साँझको खानासम्मको सम्झौता थियो, भोलिदेखि उहाँहरूले आफैंले खानुहोस्, हामीलाई कुनै सूचना आएको छैन,’ महाधिवेशनमा खानाको व्यवस्था गर्दै आएको दियालो फूडल्याण्डका प्रबन्ध निर्देशक रमेश अधिकारीले बताए। ‘हामीले आफ्ना सामान प्याक गर्न थालेका छौं, भोलिदेखि प्रतिनिधिहरूले के गर्नेछन् हामीलाई जानकारी छैन।’ रास्वपा महाधिवेशनमा खुलातर्फका ९९ जना केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक भइसकेको छ। अब ६ जना पदाधिकारीका लागि प्रतिनिधिहरूले पुनः मत हाल्न बाँकी छ। आज राति नै पदाधिकारीको मतदान गराउने तयारी रास्वपा केन्द्रीय निर्वाचन आयोगले गरेको छ।

अधिकांश प्रतिनिधिहरू महाधिवेशन स्थल छाडेर आआफ्नो घर फर्किरहेका छन् भने बाँकी केही प्रतिनिधिहरू आज राति जाने बताएका छन्। केन्द्रीय सदस्यको लागि हिजो राति १२ बजे सुरु भएको मतदान आज दिउँसो १२ बजे सम्पन्न भएको थियो। ४३११ प्रतिनिधिमध्ये २९५९ जनाले मतदानमा भाग लिएका थिए भने १३५२ जनाले मतदान गरेनन्। अब हुने पदाधिकारी निर्वाचनमा ५० प्रतिशतभन्दा कम मत खस्ने अनुमान गरिएको छ।