Skip to main content

१५ वर्षअघि साउदीमा भएको दुर्घटनाले मृगेन्द्रलाई स्वदेश फर्कन रोक्यो

११ असार, काठमाडौं । विमानस्थलमा प्रवेश गरी स्वदेश फर्कने जहाज चढ्न पाउनु वैदेशिक रोजगारीमा गएका श्रमिकहरूका लागि खुसीको अवसर नै हो । साउदी अरब पुगेका सप्तरीको सुरुङ्गा नगरपालिका–४ का मृगेन्द्र कुमार मण्डलका लागि पनि त्यो खुसीको दिन नजिकिँदै थियो । दुई वर्षको कडा परिश्रमपछि परिवारसँग भेट हुने आशाले उनलाई धेरै आशा थियो । तर, विमानस्थलको काउन्टरमा जब उनको पासपोर्ट स्क्यान गरियो, कर्मचारीको एउटा भनाइले उनलाई सन्न रोकिदियो। ‘तपाईमाथि यात्रा प्रतिबन्ध छ, नेपाल जान पाउनुभएन,’ विमानस्थलका कर्मचारीले भनेपछि उनका स्वदेश फर्कने र परिवारसँग खुसी साटासाट गर्ने सपना अधुरो रह्यो । अहिले उनको जीवन नै परिवर्तन भइसकेको छ । कतिपय समय उनी सडकमा र कतिपय समय मस्जिदका कुनामा बिताइरहेका छन् ।

त्यो दुर्घटना जसले १५ वर्षपछि जीवन उल्टाइदियो १५ वर्षअघि साउदीमा मृगेन्द्र जेल परेका थिए । गाडी चालकको रूपमा काम थालेका उनी सामान्य जीवन बिताइरहेका थिए । तर, एक दिन उनी एक गाडी दुर्घटनामा परे । दुर्भाग्यवश उक्त दुर्घटनामा एक जोर्डन नागरिकको मृत्यु भयो । साउदीस्थित रफा अदालतले उनलाई दोषी सावित गर्दै ६ वर्षको जेल सजाय सुनायो । ६ वर्ष कारावास भुक्तानी गरेपछि कम्पनीले उनको ‘फाइनल एक्जिट’ (अन्तिम बहिर्गमन) टिकट काटिदियो र उनी सन् २०१८ मा नेपाल फर्किए । नेपाल फर्किएर ५–६ वर्षसम्म गाउँमै मजदुरी गरेर जीवन बिताए । तर गरीबीले फेरि उनलाई पिल्साउँदै लग्यो । ऋण र परिवारको जिम्मेवारीले फेरि विदेश जाने बाध्यता आयो ।

सन् २०२३ मेमा उनले पुनः साउदी उडे । यसपटक नयाँ कम्पनीमा दुई वर्षसम्म इमानदारीपूर्वक गाडी चलाए । कम्पनीसँगको सम्झौता सकिएपछि खुसी हुँदै झोला बोकेर विमानस्थल पुग्दा, पासपोर्ट बुझाउँदा उनी झस्किए । सुरक्षाकर्मीले उनलाई रोकेर भने, ‘तिमीमाथि यात्रा प्रतिबन्ध छ, नेपाल जान नपाउनेछौ ।’ १५ वर्षअघिको दुर्घटनाको सजाय उनी भुक्तानी गरिसकेका थिए । तर अदालतले उक्त मुद्दा पुनर्जीवित गर्दै उनलाई ३ लाख ३० हजार साउदी रियाल (करिब १ करोड ३३ लाख रुपैयाँ) ‘ब्लड मनी’ (क्षतिपूर्ति) जरिवाना तोकेको छ । उक्त रकम नतिर्दासम्म उनी नेपाल फर्कन नपाउने र साउदीबाट बाहिरिन नपाउने फैसला छ ।

प्रतिबन्ध थाहा पाएपछि मृगेन्द्र न्याय र उद्धारको खोजी गर्दै नेपाली दूतावास पुगे । दूतावासले सहयोग गर्ने आशा थियो तर अपेक्षित सहयोग नपाएपछि उनी निराश छन् । ‘दूतावासमा गएर घर फर्किन नपाउने अवस्थाको खानपान र बसोबासको व्यवस्था गर्न अनुरोध गरेँ, तर कर्मचारीहरूले बस्न ठाउँ नभएको भन्दै ढोका थुने,’ उनले भने। वकिल राखेर मुद्दा लड्न भन्दै दूतावासले सहयोग नगर्दा उनी मर्माहत भए । ‘मुद्दा लड्ने पैसा भए दूतावासको सहयोग आवश्यक हुन्नथ्यो,’ उनी भन्छन्। अदालत वा सम्बन्धित निकायले उक्त जरिवाना सम्बन्धी कुनै आधिकारिक कागजात पनि उपलब्ध गराएको छैन । दूतावासले आवश्यक कानुनी र कूटनीतिक पहल नगर्दा उनी अलपत्र छन् । उनी हाल साउदीको सडकमा माग्दै, मस्जिदको चिसो भुइँमा सुत्दै जीवन विताइरहेका छन् । केही नेपालीहरूले उनीमाथि थप अत्याचार गरिहेको र एम्बेसीसँग काम मिलाइदिने बहानामा केही रकम लिएको पनि उनले बताएका छन् । सप्तरीमा रहेका परिवार मृगेन्द्रको अवस्थाले मर्माहत बनेका छन्। सरकारले, परराष्ट्र मन्त्रालयले र सरोकारवाला निकायहरूले तत्काल उद्धार र जीवन रक्षा गर्ने माग परिवारले गरेका छन् ।

दूतावासले भन्यो: घटनाबारे बुझ्दैछौं साउदीको रियादस्थित नेपाली राजदूतावासले उनको घटनाबारे बुझ्ने काम भइरहेको जनाएको छ । १५ वर्षअघि भएको घटनालाई लिएर साउदीस्थित सम्बन्धित निकायहरूबाट अनुसन्धान भइरहेको दूतावासले जनाएको छ । दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीले भने, ‘१५ वर्ष पुरानो मुद्दा रहेछ, ६ वर्ष जेल भोग्नुभएको रहेछ । प्रष्ट जानकारी पाएपछि थप प्रक्रिया अघि बढाइने छ ।’ ‘कामका लागि पुनः साउदी आएर घर फर्किने क्रममा विमानस्थलले रोकेको छ र ब्लड मनी तिर्नुपर्ने छ । हामीले मुद्दा राम्रोसँग बुझेपछि आवश्यक कदम चाल्नेछौं,’ उनले थपे ।