Skip to main content

राष्ट्रिय धान दिवसमा करिब १ अर्ब रुपैयाँको दही बिक्री हुने अपेक्षा

११ असार, काठमाडौं । राष्ट्रिय धान दिवस अर्थात् असार १५ को अवसरमा यस वर्ष देशभरि करिब ७५ लाख लिटर दही खपत हुने अनुमान गरिएको छ। नेपाल डेरी एसोसिएसनले उक्त दिन दही बिक्रीबाट मात्रै करिब एक अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने प्रक्षेपण गरेको छ। बिहीबार काठमाडौंमा आयोजना गरिएको ‘दही–चिउरा प्रवद्र्धन कार्यक्रम’ मा एसोसिएसनले उक्त तथ्यांक सार्वजनिक गरेको हो। असार १५ का दिन परम्परागत रूपमा खेतमा धान रोप्दै, रमाइलो गर्दै दही र चिउरा खाने नेपाली संस्कार निरन्तर जारी रहेको छ।

कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले असार १५ जस्ता सांस्कृतिक पर्वले नेपाली कृषि परम्परा र स्वदेशी उत्पादनबीचको सम्बन्ध थप मजबुत र प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनले नेपालमै उत्पादित दुग्धजन्य सामग्रीको उत्पादन, प्रवद्र्धन र उपभोगलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। त्यसैगरी, अध्यक्ष दाहालले दुग्ध उत्पादक किसानका समस्याप्रति पनि सरोकारवालाको ध्यानाकर्षण गराए। किसानले मेहनत गरेर उत्पादन गरेको दूधको उचित मूल्य पाउनुपर्ने, भुक्तानी समयमै हुनुपर्ने र समग्र दुग्ध उद्योगको दिगो विकासका लागि सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय तथा सहकार्य गरिनुपर्नेमा उनले जोड दिए।