भेनेजुएलामा भूकम्पबाट मृत्युको संख्या १८८ पुग्यो, आफन्तहरूको खोजीका लागि सूचना टाँस्न थालियो
१२ असार, काठमाडौं । भेनेजुएलामा गएको भूकम्पमा कम्तिमा १८८ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूले दुई सयभन्दा बढी मानिस अझै भग्नावशेषमा फसेको आशंका गरेका छन्। हजारौं मानिस सम्पर्कविहीन रहेका छन्। स्थानीय समयअनुसार बुधबार साँझ ६:०४ बजे नेपाली समय अनुसार (बिहीबार बिहान ३:४९ बजे) ४० सेकेण्डको अन्तरालमा क्रमशः ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प आएको थियो। भूकम्पबाट भएका मानवीय र भौतिक क्षतिको अवस्थालाई हेरेर सरकारले देशभर संकटकाल घोषणा गरेको छ। राजधानी कराकास सहितका विभिन्न स्थानमा विमानस्थल बन्द गरिएको छ र सडक यातायात पनि अवरुद्ध भएको छ। स्थानीयहरू बिजुली, खानेपानी, सञ्चार जस्ता आधारभूत सुविधाबाट वञ्चित भएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प क्यारिबियन तट नजिकै मोरोन शहरको पश्चिमतर्फ २२ किलोमिटर गहिराइमा गएको थियो भने दोस्रो ७.५ म्याग्निच्युडको भूकम्प १० किलोमिटर गहिराइमा आयो। सो दिन राष्ट्रिय विदाको कारण अधिकांश मानिस घरमै थिए। भूकम्पको प्रभाव देशभर महसुस भयो भने छिमेकी कोलम्बियाको राजधानी बोगोटासम्म कम्पन महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। लगातार दुई ठूला भूकम्पका कारण व्यापक क्षति भएको विज्ञहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार राजधानी काराकासको उत्तरी तटीय क्षेत्रमा ग्वाइरामा सबैभन्दा बढी क्षति पुगेको छ। त्यहाँ रहेको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति भएपछि बन्द गरिएको छ, जसले उद्धार र राहत कार्यमा बाधा पुर्याएको छ। ला ग्वाइरामा एक आमाले आफ्ना ३ र १० वर्षका दुई छोराछोरीको शव कम्बलमा बोक्दै रोइरहेको दृश्यले स्थानीयहरू स्तब्ध बनाएको थियो। अधिकारीहरूले उद्धार र खोजकार्य जारी राखेको जनाएका छन्। कतिपय पीडित आफैं भग्नावशेष हटाएर आफन्त खोजीमा लागेका छन्। राजधानी बाहिरी क्षेत्रमा सरकारी उद्धार टोलीको उपस्थिति न्यून छ भने धेरै परिवार आफन्त खोज्दै सडकमा छन्। टेलिभिजनहरूले भग्नावशेषबाट जीवित उद्धार गरिएका दृश्य र आफन्तहरूको छटपटाहटका भावुक दृष्यहरू प्रसारण गरिरहेका छन्।
उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोगमा अमेरिकाले अस्थायी प्रतिबन्ध हटाएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार देशभर संकटकाल घोषणा गर्दै उद्धार टोली परिचालन गरिएको जानकारी दिनुभएको छ। अस्पताल र घर पुनर्निर्माणका लागि २० करोड अमेरिकी डलर बराबरको कोष स्थापना गर्ने घोषणा पनि गर्नुभएको छ। उहाँले निजी क्षेत्रलाई समेत भारी निर्माण उपकरण उद्धार कार्यमा उपलब्ध गराउन आग्रह गर्नुभएको छ।
पहिलो विदेशी उद्धार टोली डोमिनिकन गणतन्त्रबाट आउन लागेको र अन्य देशका टोलीहरू पनि भेनेजुएलामा आउन लागेको जनाइएको छ। अमेरिका, मेक्सिको, ब्राजिल, कतार, स्पेन, पोर्चुगल र क्यानडा लगायतका देशहरूले राहत सामग्री र उद्धार टोली पठाउने घोषणा गरेका छन्। विभिन्न देशबाट चिकित्सकीय सामग्री, खोजीका लागि तालिम प्राप्त कुकुरहरू, पानी शुद्धिकरण उपकरण, विमान र ड्रोन भेनेजुएलामा पठाउने तयारी भइरहेको छ।
भूकम्पपछिको राहत तथा उद्धारसम्बन्धी कार्य सहज बनाउन अमेरिकाले भेनेजुएलामा केही आर्थिक प्रतिबन्धहरू अस्थायी रूपमा अक्टोबर २३ सम्म खुकुलो बनाएको छ। यसले राहत कारोबारलाई सहज बनाउने अमेरिकी ट्रेजरी विभागले जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कार्यवाहक राष्ट्रपति रोड्रिगेजसँग टेलिफोनमा कुराकानी गर्दै अमेरिकी सरकार तत्कालै खोज र उद्धार टोली, चिकित्सकीय सामग्री र अन्य सहायता पठाइरहेको बताएका छन्।
मुख्य विमानस्थल बन्द भएकाले केही राहत सामग्री पुर्याउन कठिनाइ भइरहेको स्वीकार गरिएको छ। आफन्त खोजीमा परिवारहरूले फोटोसहित सूचना टाँस्न थालेका छन्। भूकम्पपछि राजधानी कराकासका केही क्षेत्रमा बिजुली र मोबाइल सेवा अवरुद्ध भएको छ। मेट्रो सेवा स्थगित गरिएको छ भने ग्यास आपूर्ति पनि रोकिएको छ। विद्यालयहरू केही दिनका लागि बन्द गरिएको छ र केही विद्यालय भवनलाई अस्थायी आश्रय तथा राहत संकलन केन्द्रको रूपमा प्रयोग गरिने सरकारको उल्लेख छ।
आफन्तहरूको खोजीमा परिवारहरूले फोटोसहितका सूचना टाँस्न थालेका छन् भने विदेशमा रहेका भेनेजुएलीहरू आफ्ना परिवारसँग सम्पर्क गर्न संघर्ष गरिरहेका छन्।

