Skip to main content

गुल्मीका कफी किसान सेतो गवारो रोगबाट पीडित

११ असार, गुल्मी । ‘लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो। वर्षौँसम्म मेहनत गरेर हुर्काएका बोट काट्नुपर्दा मन नै निराश भयो। कफीखेती जोगाउने उपायबारे चिन्ताले मन पिरोलिरहेको छ’, गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ भड्कुवा की कफी किसान कृषक माया भट्टराईले बताइन्। यो उनको मात्र पीडा होइन। कफीको जननी जिल्ला भनिने गुल्मीका साथै अर्घाखाँची र प्यूठानका सयौँ किसान अहिले यस्तै समस्यामा छन्। रोगकीरा सङ्क्रमण, गुणस्तरीय बिरुवाको अभाव, प्राविधिक ज्ञानको कमी, सिँचाइ र बजार व्यवस्थापन लगायत चुनौतीले पछिल्लो समयमा कफी किसान चिन्तित बन्दै आएका छन्।

“गवारोले उठिबास लगायो। फल दिने समयमा रुख काट्नुपर्ने अवस्था सिर्जना भएको छ”, अर्घाखाँचीको छत्रदेव गाउँपालिका-६ का कफी किसान हरिलाल पौडेलले भने, “किसानको लगानी खेर जाने अवस्था छ, उत्पादन सुरक्षित हुने वातावरण छैन।” कफीको जिल्ला भनेर चिनिने गुल्मीमा उत्पादन हिसाबले पनि समृद्ध इतिहास छ। पछिल्ला वर्षहरूमा यहाँका किसानले व्यावसायिक कफीखेतीलाई प्रमुख आयआर्जनको साधन बनाउँदै आएका छन्। तर उत्पादन वृद्धि भएतापनि बिरुवामा देखिएका समस्या समाधान नभएसँगै किसान निराश हुँदै गएका छन्।

तिनै समस्यालाई पहिचान गरी समाधान खोज्ने उद्धेश्यले कफी विकास केन्द्र आँपचौर, गुल्मीले सदरमुकाम तम्घासमा कफी उत्पादक, निर्यातकर्ता तथा सहकारी संस्थासँग समन्वय गरी समस्या समाधानका लागि कार्यक्रम सञ्चालन गरेको छ। कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत आज यहाँ आयोजना गरिएको कार्यक्रममा गुल्मी, अर्घाखाँची र प्यूठान जिल्लाका अगुवा कफी किसानको सहभागिता थियो। कार्यक्रममा सहभागी किसानले कफीखेतीका समस्या खुलेर राखे। सबैभन्दा जटिल समस्या अहिले सेतो गवारोको सङ्क्रमण भएको किसानहरूले बताए।

यसबाहेक हिउँद याममा कफीका बेर्ना पुरानो झैँ सुक्ने, बीउ गुणस्तर नहुँदा बिरुवा राम्रो फस्टिन नसक्ने, पातमा डढेलो जस्ता रोग लाग्ने र आवश्यक प्राविधिक ज्ञानको अभावले उत्पादनमा प्रत्यक्ष असर पर्ने किसानहरूको भनाइ छ। पर्याप्त छहारी र सिँचाइको अभावले पनि कफीखेतीमा चुनौती थपिएको किसानहरूले बताएका छन्। त्यस्तै, बजारीकरणमा एकरूपता नहुँदा उत्पादकलाई उचित मूल्य नपर्ने र यसबाट किसान आर्थिक घाटा भोग्नुपर्ने भएको छ।

कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, गुल्मीका प्रमुख नवराज पण्डित, कफी विकास केन्द्र आँपचौरका वरिष्ठ बागवानी अधिकृत राहुल पाण्डे, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धिताल तथा जिल्ला सहकारी संघ गुल्मीका उपाध्यक्ष सोमनाथ सापकोटाले किसानका प्रश्नहरूको जवाफ दिँदै कफी क्षेत्रका समस्याहरू समाधान गर्न सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य अनिवार्य रहेको बताएका छन्। उनीहरूले कफी उत्पादनदेखि प्रशोधन, बजारीकरण र निर्यातसम्म व्यवस्थित बनाउन किसान, सहकारी, सरकारी निकाय, स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। साथै रोग र कीरा नियन्त्रण, गुणस्तरीय बिरुवा उत्पादन, प्राविधिक सेवा विस्तार र बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। नेपालमा व्यावसायिक कफीखेती सुरु भएको गुल्मी जिल्लामा हाल एक हजार ८०० भन्दा बढी किसान कफीखेतीमा संलग्न रहेका छन् भन्ने जानकारी जिल्लास्थित कृषि ज्ञान केन्द्रले दिएको छ। बढ्दो रोग, कीराको सङ्क्रमण र बजार व्यवस्थापनका चुनौतीहरू समाधान नभए कफीखेतीप्रति किसानको आकर्षण घट्नसक्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्।