Skip to main content

वैशाखमा बैंकहरूले ऋण बढाए पनि ७ हजारभन्दा बढी कर्जा खाता बन्द

१२ असार, काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा बैंकहरूले ऋण लगानी वृद्धि गरे पनि कर्जा खाता ७ हजारभन्दा बढीले घटेको छ। वैशाख महिनामा मात्र एक अर्ब रुपैयाँ ऋण थपिएपछि चालु आर्थिक वर्ष १० महिनासम्म कुल ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा थपिएको छ। कर्जाको माग नबढेको कारण नयाँ कर्जा खाता नखोलेको र बैंकहरूले पुरानो कर्जा असुलीमा केन्द्रित भएका साथै लामो समयसम्म पेन्डिङ अवस्थामा रहेका कर्जा खाता बन्द भएका बैंककर्मीहरूले बताएका छन्। यसअघि पनि जेनजी आन्दोलनपछि कात्तिकसम्म करिब ४ हजार ऋण खाता घटेको थियो। कर्जाका लागि खाता खोलेका व्यक्तिहरूले पनि कर्जा नलिइ खाता बन्द गरेकाले खाता संख्या घटेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताएका छन्।
‘जेनजी आन्दोलनपछि व्यवसायीहरूको मनोबल कमजोर भयो र केही कर्जा खाता पनि बन्द भए,’ ती अधिकृतले भने, ‘नयाँ उद्योग वा व्यवसाय सुरु गर्ने वा विद्यमान उद्योग विस्तार गर्ने अनुकूल वातावरण नभएपछि कर्जा खाता खोलिए पनि ऋण नलिई बन्द भएका छन्।’ कर्जा खाता घट्नु चालु आवको वैशाख महिनामा मात्र नभई कात्तिक महिनामा पनि बैंक तथा वित्तीय संस्थामा घटेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।
पुराना, पेन्डिङ अवस्थामा रहेका र सानो आकारको कर्जा भएका खाता बैंकहरूले बन्द गर्ने निर्णय गरेकाले कर्जा खाता घटेको ती अधिकृतले बताए। कर्जाका लागि प्रक्रिया पूरा गरेर खाता खुलेका तर भुक्तानी नगरेका केही खातामा ग्राहक नै खाता बन्द गराएको पनि उनले जानकारी दिए। ‘यसले बैंकहरूको कर्जा उठान बढेको होइन,’ उनले भने, ‘केही कर्जा चुक्ता भएका र प्रक्रिया पूरा नहुने खाता बन्द भएका कारण यस्तो देखिएको हो।’ अर्का एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार कर्जा तिरेर खाता बन्द गर्ने ग्राहकको संख्या बढेर ऋण खाता घटेको होइन।
‘नियमित रूपमा कर्जा भुक्तानी सकिएका वा अपलेखन भएका कर्जा खाता बन्द हुँदा संख्या घटेको हुन सक्छ,’ उनले भने, ‘कर्जाको माग बढेको छैन, तिरेर बन्द गर्ने गर्ने पनि छैन, नयाँ खाता नखोलिएपछि पुराना खाता पनि बन्द हुने स्थिति छ।’ नयाँ खाता नखोलिने र पुराना खाता घट्दा कर्जा खाता उच्च दरमा बन्द भएको हुन सक्ने उनको अनुमान छ। केही कर्जा माग्न प्रक्रिया पूरा भएका तर भुक्तानी नगरेका खाता बन्द हुने कुरामा पनि उनी सहमत छन्। पछिल्लो समयमा बैंक शाखाहरूको मर्जर भएको कारणले पनि कर्जा खाता घटेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले बताए।
‘शून्य खाता भएका, एकदमै सानो ऋण भएका र जीरो लोन भएका तर बन्द गर्नुपर्ने प्रक्रिया पूरा भएका खाता बन्द भएको देखिन्छ,’ पौडेलले भने, ‘बैंकहरूले नियमित रूपमा कर्जा अपलेखन गर्ने र त्यसको लागि सञ्चालक समितिको निर्णय लगायत प्रक्रिया पूरा गर्नुपर्ने भएकाले एकै पटक यस्तो देखिएको हो।’ केन्द्रीय बैंकका अनुसार यस चालु आवको वैशाख महिनामा ७ हजार १७७ कर्जा खाता बन्द भएको छ। बन्द खाता संख्या एकै पटक कार्यान्वयन हुँदा संख्या धेरै देखिएको उनको भनाइ छ। चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्र पनि ४ हजारभन्दा बढी कर्जा खाता घटेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ। वैशाखमा कर्जा खाता घटे पनि निक्षेप खाता तीन लाखभन्दा बढीले बढेको छ। वैशाखसम्म बैंक तथा वित्तीय संस्थाका कर्जा र निक्षेपका कुल खाता संख्या ६ करोड २७ लाख २३ हजार पुगेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म कर्जा खाता २० लाख ३७ हजार ४ सय ३५ पुगेको छ भने चैत महिनासम्म यो संख्या २० लाख ४४ हजार ६ सय १२ थियो। यसअघि असोजको तुलनामा कात्तिकमा कर्जा खाता घटेको थियो। बैंक तथा वित्तीय संस्थाका कर्जा खाता असोज महिनासम्म १९ लाख ९८ हजार ४ सय ९१ थिए। त्यसपछि कात्तिकसम्म यो संख्या १९ लाख ९४ हजार ९ सय १२ मा झरेको थियो। २०८२ वैशाखसम्म बैंक तथा वित्तीय संस्थामा कुल कर्जा खाता संख्या १९ लाख ५३ हजार थियो। २०८२ असारसम्म कर्जा खाता १९ लाख ६१ हजार ४६९ पुगेको थियो। सो अवधिमा मात्र ८ हजारभन्दा बढी कर्जा खाता थपिएको केन्द्रीय बैंकले जनाएको छ।