आईसीसी महिला टी-२० विश्वकपका शीर्ष आठ टोली र आयोजक पाकिस्तानले सन् २०२८ को विश्वकपमा स्थान पक्का गरेका छन्। समूह ‘ए’ बाट अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र बंगलादेश तथा समूह ‘बी’ बाट इङ्ल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड र श्रीलंका सिधै छनोट भएका छन्। सन् २०२६ को जुलाई ६ सम्मको आईसीसी वरीयताका आधारमा बाँकी टोली टुङ्गिनेछ भने श्रीलंकामा हुने च्याम्पियन्स ट्रफीका लागि पनि वरीयता नै मापदण्ड रहनेछ। १३ असार, काठमाडौं। इंग्ल्यान्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकपमा दुई समूहका शीर्ष चार स्थानमा रहेका आठ टोली र पाकिस्तानले सन् २०२८ को टी-२० विश्वकपमा स्थान सुरक्षित गरेका छन्। समूह ‘ए’ बाट अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र बंगलादेशले आगामी विश्वकपमा स्थान पक्का गरेका छन्। यस्तै समूह ‘बी’बाट इङ्ल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड र श्रीलंकाले पनि सिधै छनोट भएका छन्। आयोजक राष्ट्र पाकिस्तान भने समूह ‘बी’मा पाँचौं स्थानमा रहँदा पनि प्रतियोगिताको आयोजक भएकाले स्वतः २०२८ को विश्वकपमा सहभागी हुनेछ। पाकिस्तानले यस संस्करणमा पाँच खेलमध्ये एक खेल मात्र जितेको थियो। स्कटल्यान्ड भने शुक्रबार श्रीलंकासँग पराजित भएपछि सिधै छनोट हुने अवसर गुमाएको छ। १२ टोली सहभागी हुने प्रतियोगिताको दशौं स्थान जुलाई ६, २०२६ सम्मको आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयताका आधारमा निर्धारण हुनेछ। हालको अवस्थामा नवौं वरीयतामा रहेको आयरल्यान्ड उक्त स्थानमा रहने सम्भावना छ। बाँकी दुई टोली भने १० टोली सहभागी हुने ग्लोबल क्वालिफायरबाट छनोट हुनेछन्। यसअघि विभिन्न क्षेत्रीय छनोट प्रतियोगितामार्फत टोलीहरूले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्। हाल १४औं वरीयतामा रहेको नेदरल्यान्ड्स, ११औं स्थानको स्कटल्यान्ड तथा नवौं स्थानको आयरल्यान्ड वरीयतामा पछि परेमा मुख्य प्रतियोगितामा पुग्न ग्लोबल क्वालिफायर खेल्नुपर्ने अवस्था आउन सक्छ। यसैबीच, आईसीसीले आगामी वर्ष श्रीलंकामा हुने पहिलो महिला च्याम्पियन्स ट्रफीको टोली संरचना पनि तय गरेको छ। आयोजक श्रीलंकासहित जुलाई ६ को टी-२०आई वरीयताको शीर्ष पाँच टोली प्रतियोगितामा सहभागी हुनेछन्। हालको वरीयताअनुसार अष्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले स्थान बनाउने देखिएको छ।

