Skip to main content

काठमाडौं महानगर कप ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

काठमाडौं महानगर कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगितामा पुरुष, महिला र मिक्स डबल्सतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगिताको आइतबार अन्तिम दिन सेमिफाइनल र फाइनल खेलहरू सम्पन्न भई विजेताको घोषणा हुनेछ। राजधानीकै सबैभन्दा ठूलो मानिएको यस प्रतिस्पर्धामा महानगरका ३२ वटै वडाका प्रतिनिधिहरूले सहभागिता जनाएका छन्। १३ असार, काठमाडौं।

काठमाडौं महानगरपालिका र काठमाडौं जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा जारी ‘काठमाडौं महानगर कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८३’ मा पुरुष, महिला तथा मिक्स डबल्सतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ। काठमाडौं १५ डल्लुस्थित एनओसी भूकम्प स्मृति कभर्ड हलमा शनिबार समूह चरणका बाँकी २४ खेलहरू सम्पन्न भए। त्यस्तै पुरुष एकल, महिला एकल र मिक्स डबल्सतर्फका नकआउट चरणका खेलहरू पनि सुरु भएका थिए।

पुरुष एकलतर्फ वडा नं १० का बबिश थापा, २८ का गौरव तण्डुकार, १५ का स्वयं मानन्धर र ४ का सुषान्त प्रजापतिले सेमिफाइनलमा प्रवेश गरेका छन्। क्वार्टरफाइनलमा बबिशले कुमारबहादुर अर्याललाई तथा गौरवले रितेशराज श्रेष्ठलाई पराजित गरेका थिए। त्यसैगरी स्वयंले बिकी श्रेष्ठलाई हराएका थिए भने सुषान्तले आयुष विक्रम शाहको चुनौती पँरास्त गरेका छन्।

महिला एकलतर्फ वडा नं १५ की अजारेन्का शेर्चन, १५ की श्रेया महर्जन, २३ की सम्रिना श्रेष्ठ र ६ की शिस्ता कुइकेल सेमिफाइनलमा पुगेका छन्। सहभागी ११ महिला खेलाडीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो जहाँ समूहका शीर्ष दुई टोलीहरूले अन्तिम चारमा स्थान बनाएका हुन्। शनिबारबाट मात्र मिक्स डबल्सका खेलहरू सुरु भएका थिए। अनिश आर तुलाधर-विद्या श्रेष्ठ, सक्षम ढकाल-विभा थापा, राजु देउजा-अम्बिका पण्डित क्षेत्री तथा नरेश श्रेष्ठ-पुन्सोभा महर्जनको जोडीले सेमिफाइनलसम्मको यात्रा तय गरेका छन्। आइतबार प्रतियोगिताको अन्तिम दिन सेमिफाइनल र फाइनल खेलहरू हुनेछन्।

महिला एकलको पहिलो सेमिफाइनलमा अजारेन्का शेर्चन र श्रेया महर्जन आमने–सामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा सम्रिना श्रेष्ठ र शिस्ता कुइकेलबीच प्रतिस्पर्धा हुनेछ। पुरुष एकलको पहिलो सेमिफाइनलमा बबिश थापाले गौरव तण्डुकारसँग प्रतिस्पर्धा गर्नेछन् भने अर्को सेमिफाइनलमा स्वयं मानन्धर र सुषान्त प्रजापतिबीच भिडन्त हुनेछ। मिक्स डबल्सको सेमिफाइनलमा अनिश-विद्या जोडीले राजु-अम्बिका जोडीसँग प्रतिस्पर्धा गर्नेछन् भने सक्षम-विभा र नरेश-पुन्सोभा जोडी अर्को सेमिफाइनलमा भिड्नेछ। काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका प्रतिनिधिहरू सहभागी रहेको यस प्रतियोगिता राजधानीकै सबैभन्दा ठूलो सामुदायिक ब्याडमिन्टन प्रतियोगिताका रूपमा लिइएको छ।