इन्डोर सुपर लिगको दोस्रो संस्करणका लागि खेलाडी अक्सन आउँदो सोमबार असार १५ गते काठमाडौंमा आयोजना गरिने भएको छ। दस टोलीको सहभागितामा आयोजना हुन लागेको यस प्रतियोगिता आगामी भदौ १७ गतेदेखि सुरु गरिने आयोजकहरूले जानकारी दिएका छन्। प्रबन्ध निर्देशक ज्योति भण्डारीले दोस्रो संस्करण पहिलो भन्दा अझ भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरे। १३ असार, काठमाडौं।
इन्डोर सुपर लिग (आईएसएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन यस सोमबार असार १५ गते काठमाडौंमा गरिनेछ। काठमाडौं स्पोर्ट्स इभेन्टस् प्रालिको आयोजनामा हुने यस लिगमा १० टोली सहभागी छन्। पहिलो संस्करणमा आठ फ्रेन्चाइज टोली सहभागि थिए भने यस वर्ष दुई नयाँ टोली थपिएका छन्। यस संस्करणमा टोलीहरूको नाम पनि शहर तथा प्रदेशको पहिचान झल्किने गरी परिवर्तन गरिएको छ।
इन्डोर सुपर लिगका प्रबन्ध निर्देशक ज्योति भण्डारीले नयाँ टोली पहिचानले क्रिकेटप्रेमी र दर्शकमाझ थप उत्साह उत्पन्न गरेको बताउँदै दोस्रो संस्करण पहिलोभन्दा अझ भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरे। दोस्रो संस्करणका टोलीहरूमा काठमाण्डौ कैलाश किंग्स, सुदूरपश्चिम टाइगर्स, द लुम्बिनी योर्कर्स, मिक्समाण्डु, ललितपुर अलस्टार्ज, विराटनगर ब्याटालियन, जनकपुर किंग्स, बुटवल एम्पायर, पोखरा वारियर्स र रअ हेटौंडा रोयल्स रहेका छन्। प्रतियोगिता आगामी सेप्टेम्बर २ अर्थात् भदौ १७ गतेदेखि सञ्चालन हुनेछ। आईएसएलको पहिलो संस्करणको उपाधि अनमोल पायोनियर्सले जितेको थियो। फ्रेन्चाइज प्रणालीमार्फत नेपाली इन्डोर क्रिकेटको विकास, नयाँ प्रतिभाको पहिचान र खेललाई व्यावसायिक रूपमा स्थापित गर्ने उद्देश्यसहित इन्डोर सुपर लिगको दोस्रो संस्करण आयोजना गर्न लागिएको आयोजकहरूले बताएका छन्।

