रेनबो डिसएबिलिटी नेपालले प्राइड महिनाको अवसरमा असार १२ गते राष्ट्रिय पोशाक डिजाइन प्रतियोगिता सम्पन्न गरेको छ। १४ असार, काठमाडौं। रेनबो डिसएबिलिटी नेपाल (आरडीएन) को आयोजनामा राष्ट्रिय पोशाक डिजाइन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्राइड महिना २०२६ का अवसरमा असार १२ गते यस प्रतियोगिता आयोजना गरिएको थियो।
विविधता, समावेशिता र यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वियर) समुदायको पहिचान र प्रतिनिधित्वलाई सिर्जनात्मक रूपमा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकहरूले जानकारी दिएका छन्। प्रतियोगितामा विभिन्न समुदायका सहभागीहरूले आफ्ना मौलिक पोशाक डिजाइनहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा डिजाइनर आर्मन्ट द्वारा तयार गरिएका राष्ट्रिय पोशाकहरू विभिन्न अल्पसंख्यक समुदायका १० जना मोडलहरूले प्रदर्शन गरेका थिए।
नेपाली मौलिकता, विविध सांस्कृतिक पहिचान र समावेशी सोच समेटिएका ती पोशाकहरूले विशेष ध्यान आकर्षित गरेका थिए। कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मानपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो। त्यसपछि आयोजित प्रतियोगितामा सहभागीहरूले आफ्ना सिर्जनशीलता, मौलिकता र समावेशी अवधारणामा आधारित डिजाइनहरू प्रस्तुत गरेका थिए।
निर्णायकहरूले मूल्यांकन गरेपछि उत्कृष्ट डिजाइन विजेता घोषणा गरी पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा अमेरिकन हिमालयन फाउन्डेसन, एफजेएस इन्टरनेशनल लिमिटेड, क्वियर युथ ग्रुप, युवा तथा प्लान इन्टरनेशनल लगायतका संस्थाहरूको सहकार्य रहेको थियो। सहभागी डिजाइनरहरूले कला र सिर्जनशीलतालाई सामाजिक रूपान्तरणको माध्यमका रूपमा प्रस्तुत गरेका थिए। यस प्रतियोगिताले नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको दृश्यता, सम्मान र सामाजिक स्वीकार्यता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकहरूको छ।

