Skip to main content

विश्वकपको नकआउट चरणको खेल आजदेखि सुरु हुँदै

दक्षिण अफ्रिका र क्यानडाले पहिलो पटक फुटबलको विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन्। दुवै टोली आफ्ना समूहमा उपविजेता बनेका थिए। फिफा विश्वकप २०२६ को नकआउट चरणका खेलहरू आज रातिदेखि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा सुरु हुँदैछन्। नयाँ संरचनाअन्तर्गत थपिएको राउण्ड अफ ३२ को पहिलो खेलमा क्यानडा र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्। नेपाली समय अनुसार सोमबार बिहान पौने १ बजे लस एन्जलस स्टेडियममा हुने खेलको विजेता टोली अन्तिम १६ मा प्रवेश गर्नेछ।

१४ असार, काठमाडौं। अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणका खेलहरू आज रातिदेखि सुरु हुँदैछन्। समूह चरणका ७२ खेलपछि नकआउट चरणमा प्रवेश गर्ने ३२ टोली निश्चित भइसकेका छन् र नकआउट चरणका खेलहरू अगाडि बढिरहेका छन्। यो संस्करण विश्वकप अहिलेसम्मकै सबैभन्दा ठूलो भएको छ, जसमा ४८ टोलीले प्रतिस्पर्धा गरेका थिए। त्यसमध्ये ३२ टोली नकआउट चरणमा पुगेका छन् भने १६ टोली समूह चरणमै बाहिरिएका छन्।

नकआउट चरणमा यसपटक नयाँ थपिएको राउण्ड अफ ३२ को खेलहरू सुरुमा हुनेछन्। सहआयोजक क्यानडाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीले पहिलो पटक आफ्नो फुटबल इतिहासमा विश्वकपको नकआउट चरणमा स्थान बनाउन सफल भएका हुन्। दुवै टोली समूहमा उपविजेता बनेका थिए।

यो विश्वकपमा पहिलो पटक नकआउट चरण खेलेका यी दुई टोली पहिलोपटक विश्वकपमा आमने सामने हुनेछन् भने समग्रमा यो दोस्रो भेट पनि हो। सन् २००७ मा डर्बानमा भएको मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिकाले क्यानडालाई २-० ले पराजित गरेको थियो।

दक्षिण अफ्रिका, जसलाई बफाना बफाना भनेर चिनिन्छ, समूह ए को उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो भने क्यानडा समूह बी को उपविजेताको रूपमा अघि बढेको छ।

यो विश्वकपबाट थपिएको नयाँ राउण्ड अफ ३२ मा पहिलोपटक दक्षिण अफ्रिका र क्यानडाले इतिहास रच्दैछन् र अब प्रिक्वाटरफाइनल पुगेर अर्को इतिहास रच्ने लक्ष्य राखेका छन्। यो खेल नेपाली समय अनुसार सोमबार बिहान पौने १ बजे सुरु हुनेछ र अमेरिकाको लस एन्जलस स्टेडियममा हुनेछ।

खेलको विजेता नेदरल्यान्ड्स र मोरक्कोबीचको खेलको विजेतासँग अन्तिम १६ वा प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ। राउण्ड अफ ३२ को तालिका नकआउट चरणको सुरुवातमा हुनेछ र यस चरणका विजेता टोलीले अन्तिम १६ मा प्रवेश गर्नेछन् भने पराजित टोलीहरू बाहिरिनेछन्। नकआउट चरणमा पराजित टोली बाहिरिने भएकाले प्रत्येक खेल फाइनलजस्तै महत्वपूर्ण हुन्छ।