Skip to main content

पाकिस्तान रेन्जर्स सिन्ध क्याम्पमा आक्रमण, तीन सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानको कराँचीस्थित रेन्जर्स सिन्ध क्याम्पमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। सेनाले जवाफी कारबाहीमा आक्रमणकारी तीन जनालाई मारिदिएको र एक घाइतेलाई पक्राउ गरेको जनाएको छ। शनिबार राति भएको आक्रमणको जिम्मेवारी अतिवादी संगठन जमात-उल-अहरारसँग सम्बन्धित समूहले लिएको छ।

पाकिस्तानी सेनाले शनिबार राति भएको उक्त आक्रमणमा तीन सुरक्षाकर्मी मारिएको पुष्टि गरेको छ। सेनाले जवाफी कारबाहीका क्रममा तीन आक्रमणकारीलाई मारिएको जनाएका छन्। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग, आईएसपीआरले अपरेशनको समयमा एक आक्रमणकारी र एक अफगानी नागरिक घाइते अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ।

शनिबार राति कराँचीको गुलिस्तान-ए-जोहर क्षेत्रमा रहेको रेन्जर्स कार्यालय नजिक विस्फोट र गोलीबारी भएको थियो। यो घटना गुलिस्तान-ए-जोहरको ब्लक ५ मा रहेको रेन्जर्स भवन नजिकै भएको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै जानकारी दिइएको छ।