झलनाथ खनालले मदन भण्डारी र जीवराज आश्रितको हत्यामा कम्युनिस्ट पार्टीको कमजोरी स्वीकारे
पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पहिचान गर्न नसक्नु कम्युनिस्ट पार्टीभित्रको कमजोरी भएको स्वीकार गरेका छन्। खनालले मदन भण्डारीको हत्या नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज बनाउने षड्यन्त्रको रूपमा भएको दाबी गरेका छन्। उनले आफूहरू मार्क्सवाद र लेनिनवादलाई नेपाली क्रान्तिको विशिष्टतामा लागू गर्न निरन्तर क्रियाशील रहेको बताए।
१४ असार, काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारीको हत्याका हत्यारालाई पत्ता लगाउन नसक्नु कमजोरी आफूहरूभित्र रहेको समेत स्वीकारे। नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा उनले यो कुरा बताएका छन्।
‘मदन भण्डारी र उहाँको बारेमा कुरा गर्दा जीवराज आश्रित कमरेडलाई छुट्याउन सकिन्न। उहाँहरूको हत्या अत्यन्तै रहस्यमय तरिकाले भएको थियो। ती हत्याकाण्डको जिम्मेवार को हुन्?’ खनालले भने, ‘यी सबै कुरा अहिलेसम्म पनि पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ।’
मदन भण्डारीको हत्याको षड्यन्त्र नेपाल कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले भएको उनको भनाइ छ। ‘उहाँमाथि गरिएको हत्याको षड्यन्त्र नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज बनाउने षड्यन्त्र हो। सिंगो कम्युनिस्ट आन्दोलनमाथि यस्तो षड्यन्त्र जारी छ,’ खनालले उल्लेख गरे।

