वैज्ञानिकहरूले उमेर बढ्दै जाँदा कम्मर र पेट वरिपरि बोसो बढ्ने मुख्य जैविक कारण पत्ता लगाएका छन्। अनुसन्धानले देखाएको छ कि उमेरसँगै शरीरमा नयाँ बोसो कोशिका उत्पादन गर्ने विशेष स्टेम सेलहरू सक्रिय हुन्छन्। भविष्यमा यी स्टेम सेलहरूको गतिविधि रोक्ने नयाँ उपचार विधि विकास गरेर मोटोपन नियन्त्रणमा मद्दत पुग्ने आशा गरिएको छ। १५ असार, काठमाडौं।
बढ्दो उमेरसँग मानिसको तौलमा ठूलो परिवर्तन नआए पनि कम्मर र पेटको आकार बिस्तारै बढ्ने, अर्थात् ‘बेली फ्याट’ बढ्ने समस्या प्रायः देखिन्छ। पेट वरिपरि जम्मा हुने बोसो सुन्दरतासँग मात्र नभई मेटाबोलिजम सुस्त पार्ने, मुटु रोग, टाइप-२ मधुमेह र छिटो बुढ्यौली जस्ता गंभीर रोगहरूको कारण बन्न सक्छ। हालै सिटी अफ होपका अनुसन्धानकर्ताहरूले यसको जैविक कारण पत्ता लगाएका छन्।
सिटी अफ होपको आर्थर रिग्स डाइबिटिज एन्ड मेटाबोलिजम रिसर्च इन्स्टिच्युटका सह-प्राध्यापक क्युङ (एनाबेल) वाङका अनुसार, उमेरसँगै शरीरमा नयाँ किसिमका वयस्क स्टेम सेलहरू देखा पर्न थालेका छन् जसले विशेष गरी पेट वरिपरि ठूलो मात्रामा नयाँ बोसो कोशिकाहरु उत्पादन गर्न थाल्छन्। वैज्ञानिकहरूले पहिले मात्र पुराना बोसो कोशिकाहरूको आकार ठूलो हुने सोच राख्थे, तर नयाँ अनुसन्धानले देखाएको छ कि पुरानो कोशिका ठूलो हुँदै जाँदा मात्र होइन, शरीरले नयाँ बोसो कोशिकाहरू निरन्तर थप्दै जाँदा पनि कम्मर बढिरहेको हुन्छ।

