रेस्टुरेन्टमा ग्राहकलाई सुरुमा पानी उपलब्ध गराउनु अतिथी सत्कार, सम्मान र ग्राहकको सहजताका लागि अपनाइने एक महत्वपूर्ण व्यावसायिक रणनीति हो। पानीले ग्राहकलाई हतार नगरी मेनु हेर्न र निर्णय लिन समय दिन्छ भने रेस्टुरेन्टको सेवा व्यवस्थापनलाई समेत सहज बनाउँछ। यस अभ्यासले ग्राहकलाई सकारात्मक अनुभव दिलाउने साथै स्वच्छता र गुणस्तरीय सेवाको सन्देश पनि दिन्छ र पुनः भ्रमणको सम्भावना बढाउँछ। रेस्टुरेन्टमा आफ्नो सिटमा बस्ने बित्तिकै वेटरले केही सोध्नु नपरी सबैभन्दा पहिले तपाईंको टेबलमा पानी राखिदिन्छन्। त्यतिबेला हामी न मेनु हेरेका हुन्छौं न त खानाको अर्डर दिएका हुन्छौं। तर पनि किन सबैभन्दा पहिले पानी नै दिइन्छ? के यो केवल एउटा बानी हो, वा यसको पछाडि कुनै विशेष कारण लुकेको छ?
रोचक कुरा के छ भने, यो केवल प्यास मेटाउनको लागि मात्र होइन। यससँग आतिथ्य, मनोविज्ञान, स्वास्थ्य, सेवा व्यवस्थापन र व्यवसायिक रणनीतिसम्म जोडिएका धेरै कारण छन्। पानी मात्र हैन, स्वागतको पहिलो संकेत हाम्रो समाजमा घरमा आउने पाहुनालाई सबैभन्दा पहिले पानी दिने प्रचलन निकै पुरानो छ। यसले सम्मान, आत्मीयता र आतिथ्यको भावना झल्काउँछ। यही संस्कृतिलाई धेरै रेस्टुरेन्टले पनि निरन्तरता दिएका छन्। ग्राहकलाई पानी दिँदा ‘तपाईं हाम्रो विशेष पाहुना हुनुहुन्छ’ भन्ने अप्रत्यक्ष सन्देश पुग्छ। यसले ग्राहकलाई सहज महसुस गराउँछ र रेस्टुरेन्टप्रतिको पहिलो सकारात्मक धारणा निर्माण गर्छ।
बाहिरबाट आएका व्यक्तिका लागि पहिलो राहत धेरैजसो मानिस कार्यालय, बजार, यात्रा वा अन्य काम सकेर रेस्टुरेन्ट पुग्छन्। यस्तो अवस्थामा शरीरमा सामान्य डिहाइड्रेसन हुन सक्छ। पानी पिउँदा शरीरलाई तुरुन्तै ताजगी मिल्छ, मुख सुख्खा हुने समस्या कम हुन्छ र केही समय आराम महसुस हुन्छ। यसले ग्राहकलाई हतार नगरी मेनु हेर्ने र सोचविचार गरेर अर्डर गर्ने अवसर पनि दिन्छ। अर्डर गर्न पर्याप्त समय मिलोस् भनेर रेस्टुरेन्ट पुगेलगत्तै धेरैजसो ग्राहकले तुरुन्तै अर्डर गर्दैनन्। पहिले मेनु हेर्छन्, मूल्य तुलना गर्छन्, सँगै आएका साथी वा परिवारसँग छलफल गर्छन् अनि मात्र निर्णय लिन्छन्। यही अवधिमा पानी दिँदा ग्राहकले आफूलाई हतारमा परेको अनुभव गर्दैनन्।
अर्कोतर्फ वेटरले पनि अन्य टेबलमा सेवा दिने समय पाउँछन्, जसले सम्पूर्ण सेवा व्यवस्थापनलाई सहज बनाउँछ। राम्रो सेवाको सानो तर महत्त्वपूर्ण संकेत रेस्टुरेन्टको गुणस्तर स्वादिष्ट खानाले मात्र होइन, सेवाको स्तरले पनि निर्धारण गर्छ। ग्राहकले बस्ने बित्तिकै पानी उपलब्ध गराउनु राम्रो ग्राहक सेवाको आधारभूत अभ्यास मानिन्छ। ग्राहकले आफूलाई सम्मानित महसुस गरेमा उनी फेरि त्यो रेस्टुरेन्टमा फर्किने सम्भावना पनि बढ्छ।

