विद्यार्थी आन्दोलनको दबाबमा सर्बियाका राष्ट्रपति भुचिचले राजीनामा दिने घोषणा गरे
सर्बियाका राष्ट्रपति आलेक्सान्दार भुचिचले डेढ वर्ष लामो सरकार विरोधी आन्दोलनको दबाबपछि केही हप्ताभित्र राजीनामा दिने घोषणा गर्नुभएको छ। सन् २०२४ मा नोभी सादमा १६ जनाको ज्यान गुम्नु परेको रेलवे स्टेशन दुर्घटनापछि राष्ट्रपतिविरुद्ध देशभर प्रदर्शन तीव्र बनेका थिए। राजनीतिक विश्लेषकहरूले भुचिचले राष्ट्रपति पद छोडेर आगामी संसदीय निर्वाचनमार्फत प्रधानमन्त्रीका रूपमा पुनः सत्तामा फर्किने रणनीति बनाएको अनुमान व्यक्त गरेका छन्।
सर्बियामा विगत डेढ वर्षदेखि जारी विद्यार्थी नेतृत्वको सरकार बिरोधी आन्दोलनको चर्को दबाबमा राष्ट्रपति आलेक्सान्दार भुचिचले आगामी केही हप्ताभित्रै आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभयो। राजधानी बेलग्रेडमा सरकारी पक्षको ठूलो र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति भुचिचले आफू अब केही हप्तासम्म मात्र राष्ट्रपतिको पदमा रहने र त्यसपछिको समयदेखि राजीनामा गरेर देशलाई मध्यावधि राष्ट्रपतीय र संसदीय निर्वाचनतर्फ लैजाने बताउनुभयो।
सन् २०२४ को नोभेम्बरमा देशको उत्तरी सहर नोभी सादमा रेलवे स्टेशनको छानाको ढलान भत्किँदा १६ जनाको मृत्यु भएपछि सर्बियामा निरन्तर सरकार विरोधी प्रदर्शनहरू भएका छन्। आन्दोलनकारी विद्यार्थी, विपक्षी दल र नागरिक समाजले उक्त दुर्घटनालाई सरकारी निकायहरूको चरम लापरबाही, कमजोर निर्माण व्यवस्थापन र प्रणालीगत भ्रष्टाचारको प्रतीकका रूपमा हेरिरहेका छन्। यसअघि प्रदर्शनकारीहरूलाई ‘विदेशी एजेन्ट’ को उपमा लगाउँदै सन् २०२७ भन्दा अघि निर्वाचन गराउन अस्वीकार गर्दै आएका भुचिच अन्ततः आन्दोलनको बढ्दो दबाबले पछि हट्न बाध्य भएका हुन्।
सर्बियाको निर्वाचन कानूनअनुसार, दोस्रो कार्यकालको अन्त्यतिर रहेका भुचिच फेरि राष्ट्रपतिको उम्मेदवार बन्न सक्दैनन्। तर, राजनीतिक विश्लेषकहरूले भन्छन् कि भुचिचको राजीनामा राजनीतिबाट बाहिर निस्कन होइन, सत्ताको नयाँ रणनीति हो। उनी राष्ट्रपति पदबाट हटेर आफ्नो नजिकको सहयोगीलाई उक्त पदमा राख्ने र आगामी संसदीय निर्वाचनमा आफ्नो सत्तारूढ ‘सर्बियन प्रोग्रेसिभ पार्टी’ लाई जिताएर फेरि शक्तिशाली प्रधानमन्त्रीको रूपमा सत्तामा फर्किन खोजिरहेका छन्। सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्री रहेर कार्य गरेकै भुचिचले आगामी निर्वाचनमा आफ्नो पार्टीको चुनावी सूची ‘युनाइटेड सर्बिया’ नाम राख्ने प्रस्ताव पनि गरेका छन् र आफ्नो दललाई पहिलेभन्दा धेरै सिट जिताउने दाबी गरेका छन्।
राष्ट्रपति भुचिचले राजीनामा घोषणा गरे पनि राजधानी बेलग्रेडबाट करिब १७० किलोमिटर दक्षिणस्थित क्रालेभो सहरमा भेला भएका हजारौं प्रदर्शनकारीले आन्दोलन जारी राख्ने बताएका छन्। बेलग्रेडका प्राध्यापक नेमान्जा कारोभिचले प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै ‘विद्यार्थीहरूको विजय भइरहेको’ बताउनुभयो, तर आन्दोलनकारीहरूले भुचिच पूर्ण रूपमा सत्ता नछोड्ने र पृष्ठपोषी रूपमा शक्ति प्रयोग गरिरहने आशंका व्यक्त गरेका छन्।

