मिडफिल्डर कासेमिरोले ५६औं मिनेटमा हेड मार्फत गोल गरेका छन्। फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ खेलमा ब्राजिलले जापान विरुद्ध बराबरी गोल फर्काएको छ। कासेमिरोले ५६औं मिनेटमा हेड मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। यसअघि जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। १५ असार, काठमाडौं।
फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले दोस्रो हाफमा जापान विरुद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा मिडफिल्डर कासेमिरोले ५६औं मिनेटमा हेड मार्फत गोल गरेका हुन्। उनले गाब्रीएल मागल्हाएसको क्रसमा गोल गरेका हुन्। पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफको सुरुवातदेखि नै जापानमाथि लगातार दबाब बनाएको थियो। तर जापानका गोलकिपर जिओन सुजुकीले उत्कृष्ट बचाउ गर्दा ब्राजिलले गोल गर्न सकेको थिएन। तर कासेमिरोले गोल गर्दै खेल बराबरी गरे। कासेमिरो ब्राजिलका लागि विश्वकपमा गोल गर्ने दोस्रो पाका खेलाडी बने। उनले ३४ वर्ष १२६ दिनको हुँदा गोल गरेका हुन्। यसअघि बेबटोले ३४ वर्ष १३७ दिन हुँदा सन् १९९८ मा डेनमार्क विरुद्ध गोल गरेका थिए।
५२औं मिनेटमा ब्राजिलका डानिलोको पासमा ब्रुनो गुमाइरेसको हेडर जापानका गोलकिपर सुजुकीले उत्कृष्ट बचाउ गरेका थिए। यस्तै ५४औं मिनेटमा ब्राजिलका कासेमिरोले हानेको बल जापानका डिफेन्डरले गोललाइनबाट बचाएका थिए। त्यसअघि जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। उनले मैदानको बिच भागमा ब्राजिलियन खेलाडीको मिस पासलाई कलेक्ट गर्दै एक्लै बल अगाडि बढाउँदै गोल गरेका हुन्। सानोको लामो प्रहार ब्राजिलका गोलकिपर एलिसन बेकरले रोक्ने कुनै अवसर पाएनन्। जर्मन क्लब मेइन्ज ०५ बाट खेल्ने जापानका लागि सानोको यो पहिलो गोल पनि हो।

