आगामी बजेट र कार्यक्रमको लागत अनुमान तथा बोलपत्र तयारी असारभित्रै सम्पन्न गर्ने लक्ष्य
समाचार सारांश सरकारले आगामी आर्थिक वर्ष २०७८/८४ को बजेट र कार्यक्रमको लागत अनुमान तथा बोलपत्र तयारी कार्य असार मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ। मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको बैठकले सबै मन्त्रालयलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण निर्धारित समय भित्रै सम्पन्न गर्न निर्देशन दिएको छ।
भदौ महिनामा भएको प्रदर्शनमा क्षति भएका सरकारी सामग्रीको लिलामी र लेखापरीक्षण नभएका निकायको लेखापरीक्षण प्रक्रिया कानून अनुरूप छिट्टै अगाडि बढाउने निर्णय भएको छ। १५ असार, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८/८४ को बजेट तथा कार्यक्रमको लागत अनुमान र बोलपत्र तयारी कार्य असार मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ। २ असारमा सम्पन्न सचिव बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको बैठकले बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि यस निर्णयमा पुगेको हो। बैठकले सबै मन्त्रालयलाई आफ्ना मातहतका निकायसहित संगठन तथा व्यवस्थापन सर्वेक्षण तोकिएको समयमै सम्पन्न गर्ने निर्देशन पनि जारी गरेको छ।
सचिव बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आगजनी वा अन्य क्षति भएका सवारीसाधन, फर्निचर तथा यन्त्र उपकरण प्रचलित कानुन बमोजिम मीनाहा वा लिलामी पुर्याउन बाँकी निकायहरूले असार १५ भित्र कार्य सम्पादन गरी कार्यालय परिसरबाट हटाउने व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ। सबै मन्त्रालय, विभाग र निकायहरूले महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदनमा उल्लेखित बेरुजु मुद्दाको छिटो निपटानलाई उच्च प्राथमिकता दिने गरी साप्ताहिक प्रगति विवरण अनिवार्य रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र बेरुजु फस्र्यौट समितिमा बुझाउने निर्णय पनि गरेको छ।
भदौ २३ र २४ गते प्रदर्शनका क्रममा आगजनीमा परेका र लेखापरीक्षण हुन नसकेका निकायहरूले कानुन बमोजिम लेखापरीक्षक कार्यालयसँग समन्वय गरी तुरुन्तै लेखापरीक्षण सम्पन्न गराउने निर्णय पनि उक्त बैठकले गरेको छ। साथै, सरकारले शासकीय सुधारका १०० कार्यसूचीमा उल्लेखित कानुन तर्जुमा र संशोधन विधेयकहरू अविलम्ब संघीय संसदमा दर्ता गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ।

