कार्यवाहक गभर्नर पण्डितले मौद्रिक नीतिले आर्थिक वृद्धिमा सहयोग गर्नुपर्ने बताए
नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर किरण पण्डितले आगामी मौद्रिक नीतिले उच्च आर्थिक वृद्धिको सरकारी लक्ष्यलाई सहयोग पुर्याउनुपर्ने बताएका छन्। उनले मौद्रिक नीति बनाउँदा मुद्रास्फीति नियन्त्रण र वित्तीय स्थायित्वलाई सन्तुलनमा राख्ने जिम्मेवारी महत्वपूर्ण रहेको उल्लेख गरे। पण्डितले वित्तीय क्षेत्रमा बढ्दो डिजिटल चुनौती र प्रविधिजन्य जोखिम व्यवस्थापनलाई मौद्रिक नीतिको मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिएका छन्। १६ असार, काठमाडौं।
पण्डितले ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा बोल्दै वित्त नीति र मौद्रिक नीतिबीच स्वाभाविक रूपमा अन्तरसम्बन्ध हुने तर कतिपय अवस्थामा द्वन्द्वसमेत देखिने गरेको बताए। दुवै नीति समन्वयात्मक तरिकाले अघि बढ्नुपर्ने उनको भनाइ छ। उच्च आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न मौद्रिक नीतिले सहयोग गर्नुपर्ने भए पनि मुद्रास्फीति, वित्तीय स्थायित्व तथा अन्य आर्थिक सूचकहरूलाई मनलाग्दो सीमाभित्र राख्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुने उनले बताए।
पण्डितले राष्ट्र बैंकले आफ्ना लक्ष्य, मौद्रिक नीति सञ्चालनका आधार र संयन्त्रलाई ध्यानमा राखेर नीति निर्माण गर्ने स्पष्ट पारे। बजारमा मौद्रिक नीतिप्रति ठूलो अपेक्षा सिर्जना भएको उल्लेख गर्दै उनले ती अपेक्षालाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने आवश्यकतामा जोड दिए। साथै, नियामकीय सुधार र मौद्रिक नीतिबीचको भिन्नतालाई स्पष्ट रूपमा बुझ्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
पण्डितले वित्तीय क्षेत्रमा तीव्र रूपमा विकसित भइरहेका डिजिटल चुनौतीहरूतर्फ पनि ध्यानाकर्षण गराए। फिनटेक, ओपन बैंकिङ, डिजिटल कारोबारको निगरानी तथा प्रविधिसम्बन्धी जोखिम व्यवस्थापनजस्ता विषय अब मौद्रिक नीति र नियामकीय ढाँचाका महत्वपूर्ण एजेन्डा बनेको उनले बताए। यस्ता परिवर्तनलाई मध्यनजर गर्दै विषयगत समीक्षा र निरन्तर संवादको आवश्यकता रहेको उनको भनाइ छ। उनले नीति निर्माण तह र सर्वसाधारणबीच रहेको दूरी हटाउनुपर्नेमा पनि जोड दिए। विशेष गरी युवा, किसान तथा तल्लो तहका नागरिकका वास्तविक आवश्यकता र समस्या नीति निर्माण प्रक्रियासम्म पुग्न नसकेको उल्लेख गर्दै उनले यस खाडललाई कम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए।

