Skip to main content

वैदेशिक रोजगार ऐनमा व्यापक संशोधनको तयारी, सर्वसाधारणबाट सुझाव सङ्कलन

सरकारले वैदेशिक रोजगार ऐन, २०६४ मा तेस्रो पटक व्यापक संशोधन गर्ने तयारी गर्दै मस्यौदा सार्वजनिक गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले उक्त मस्यौदामाथि सात दिनभित्र राय सुझाव दिन सर्वसाधारण तथा सरोकारवालालाई अनुरोध गरेको छ। प्रस्तावित विधेयकमा वैदेशिक रोजगारलाई मर्यादित बनाउन कामदारको सट्टामा श्रमिक शब्द प्रयोग गर्ने व्यवस्था गरिएको छ।

१६ असार, काठमाडौं। सरकारले वैदेशिक रोजगार ऐन, २०६४ मा व्यापक संशोधनको तयारी गरेको छ। ऐन संशोधनका लागि विधेयक मस्यौदा तयार गरिएको छ। मन्त्रालयले सर्वसाधारण तथा सरोकारवालाबाट राय सुझाव माग गरेको छ र सात दिनभित्र राय दिन अनुरोध गरेको छ। नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत १३ गते स्वीकृत शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नं २ अनुसार वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन विधेयक तयार गरिएको मन्त्रालयले जनाएको छ।

अवधारणापत्रमा प्रस्तावित व्यवस्थाले नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, न्यायसम्बन्धी अधिकार तथा रोजगारीसम्बन्धी अधिकारको कार्यान्वयनमा सहयोग पुग्ने उल्लेख छ। मन्त्रालयले विधेयक कार्यान्वयनका लागि नेपाल सरकारलाई थप आर्थिक बोझ नपर्ने पनि जनाएको छ। प्रस्तावित व्यवस्थाबाट सुशासन प्रवद्र्धन, वैदेशिक रोजगार व्यवस्थापनमा सुधार तथा दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वैदेशिक रोजगारबाट आर्जित सिप, पूँजी र प्रविधिको उपयोग गरी पुनः एकीकरणमा सहयोग पुग्ने र यसले दिगो आर्थिक विकास तथा जलवायु अनुकूल विकासमा सकारात्मक योगदान गर्ने उल्लेख छ। मन्त्रालयले विधेयकको मस्यौदामाथि प्राप्त सुझावको अध्ययन गरी आवश्यक संशोधनपछि विधेयकलाई अन्तिम रूप दिने जनाएको छ। मस्यौदामा कामदारको सट्टा श्रमिक शब्द प्रयोग प्रस्ताव गरिएको छ।