Skip to main content

एस्टन भिल्ला, चेल्सी, नटिङ्गहम र न्युकासललाई यूईएफएको आर्थिक जरिवाना

युरोपेली फुटबल महासंघ (यूईएफए) ले आर्थिक नियम उल्लंघन गरेको आरोपमा इंग्ल्यान्डको फुटबल क्लब एस्टन भिल्लालाई २ करोड २५ लाख युरो (लगभग १९.४ मिलियन पाउन्ड) जरिवाना लगाएको छ। यूईएफएको स्क्वाड–कस्ट नियमको सन् २०२५ मा ‘गम्भीर उल्लंघन’ गरेको निष्कर्षपछि, एस्टन भिल्लामाथि जरिवानासँगै अर्को सिजनको च्याम्पियन्स लिगका लागि नयाँ खेलाडी दर्तामा प्रतिबन्ध पनि लगाइएको छ। जरिवानामध्ये १ करोड ५० लाख युरो (१२.९ मिलियन पाउन्ड) शर्तसहित स्थगित गरिएको छ। यदि क्लबले सन् २०२६ सम्म आफ्नो स्क्वाड खर्चको अनुपात उल्लेखनीय रूपमा घटाउन सकेन भने त्यो रकम पनि तिर्नुपर्नेछ।

यस निर्णय विगत वर्ष लगाइएको शर्तसहितको सजायको निरन्तरता स्वरूप आएको हो। जुलाई २०२५ मा पनि भिल्लालाई १ करोड १० लाख युरो जरिवाना गरिएको थियो र थप १ करोड ५० लाख युरो तीन वर्षभित्र आर्थिक नियम पालना गरे मात्र छुट हुने व्यवस्था गरिएको थियो। यस्तै, आर्थिक नियम उल्लंघन गर्ने अन्य तीन प्रिमियर लिग क्लबहरू पनि कारबाहीमा परेका छन्। चेल्सीलाई ३० लाख युरो जरिवाना गरिएको छ, जस मध्ये २० लाख युरो शर्तसहित स्थगित गरिएको छ। नटिङ्गहम फरेस्टले २५ लाख युरो जरिवाना तिर्नुपर्ने भएको छ भने न्युकासल युनाइटेडलाई ३० लाख युरो जरिवाना गरिएको छ।

त्यसबाहेक, यूईएफएका फुटबल आम्दानी सीमाभन्दा बढी खर्च गरेको विषयमा न्युकासलले छुट्टै सम्झौता गरेको छ। त्यसअनुसार क्लबले थप १ करोड युरो जरिवाना तिर्नुपर्नेछ, जस मध्ये ७० लाख युरो आगामी तीन वर्षसम्म शर्तसहित स्थगित रहनेछ।