चीन र साउदी अरबका विदेशमन्त्रीबीच बेइजिङमा उच्चस्तरीय वार्ता सम्पन्न
चिनियाँ विदेशमन्त्री वाङ यी र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल–साउदबीच बेइजिङमा उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। विदेशमन्त्री वाङले लडाइँभन्दा संवाद रोज्नु उत्तम हुने बताउँदै मध्यपूर्वमा जारी शान्ति वार्ताप्रति चीनको पूर्ण समर्थन रहेको उल्लेख गरेका छन्। दुवै मन्त्रीबीच ऊर्जा, उद्योग र उन्नत प्रविधिका क्षेत्रमा आर्थिक तथा लगानी सहयोग अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको छ।
भेटका क्रममा विदेशमन्त्री वाङले मध्यपूर्वमा जारी शान्ति वार्ताप्रति चीनको समर्थन दोहोर्याउँदै हालैको कमजोर युद्धविरामका बाबजुद वार्ता र संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिको अनुसार वाङले भनेका छन्, ‘लडाइँ गर्नुभन्दा कुराकानी गर्नु राम्रो हो र टकरावमा उत्रिनुभन्दा संवाद रोज्नु उत्तम हो।’
क्षेत्रीय परिस्थितिको समीक्षा गर्दै चिनियाँ विदेशमन्त्री वाङले हालको मुख्य प्राथमिकता अमेरिका र इरानबीच गत जुन १७ मा हस्ताक्षर भएको १४ बुँदे समझदारी पत्र (एमओयू) को पूर्ण कार्यान्वयन गर्नु र बृहत् सम्झौताका लागि जारी वार्ताको गतिलाई कायम राख्नु रहेको बताएका छन्। मंगलबारको बैठकमा वाङले मध्यपूर्वमा स्थायी शान्ति र स्थिरताका लागि साउदी अरबसँगै काम गर्न चीन तयार रहेको र वैश्विक सुशासनमा साउदी अरबको ठूलो भूमिकालाई बेइजिङले समर्थन गर्ने स्पष्ट पारेका छन्।
साउदी विदेशमन्त्री फैसलले पनि मध्यपूर्वको तनाव कम गर्न चीनले निर्वाह गरेको रचनात्मक भूमिकाको प्रशंसा गरेका छन्। यसका साथै दुवै मन्त्रीबीच ऊर्जा, उद्योग, आपूर्ति शृङ्खला र उन्नत प्रविधि जस्ता क्षेत्रमा आर्थिक र लगानी सहयोग बढाउने विषयमा पनि छलफल भएको छ। यो बैठक चीन र मध्यपूर्वी देशहरूबीच भइरहेको शृङ्खलाबद्ध कूटनीतिक प्रयासहरूको एक महत्वपूर्ण अंश हो।

