यूएईसँग श्रम मन्त्रीको आग्रह: प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो प्रक्रियाबाट मुक्ति दिनुहोस्
श्रममन्त्री रामजी यादव र संयुक्त अरब एमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटमा श्रम सम्झौताको प्रावधानहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सहमति भएको थियो। मन्त्री यादवले यूएई जान लागेका नेपाली श्रमिकले प्रहरीले जारी गर्ने चारित्रिक प्रमाणपत्र दुई पटक लिनुपर्ने झन्झटिलो प्रक्रियालाई हटाएर श्रमिकको लागि सहज वातावरण सिर्जना गर्न राजदूतसमक्ष अनुरोध गर्नुभएको छ।
राजदूत अल शामसीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीहरूलाई आममाफी दिइएको जानकारी गराउनुभएको छ। मन्त्री यादवले यस सहयोगप्रति आफ्नो कृतज्ञता व्यक्त गर्नुभएको छ। साथै, नेपाल–यूएई श्रम सम्झौताअन्तर्गत भएको सहमतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनले जोड दिनुभएको छ। यसका साथै वैदेशिक रोजगारीको लागत कटौती, सिप विकास साझेदारी, र श्रमिकहरूको स्वास्थ्य सुरक्षासम्बन्धी निर्णयहरूलाई व्यवहारमा उतार्नु आवश्यक रहेको कुरा समेत बताइएको छ।
भेटवार्तामा दुवै पक्षले श्रम सम्झौताका प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। राजदूत अल शामसीले द्विपक्षीय सम्बन्धका अन्य महत्वपूर्ण विषयवस्तुहरूमा पनि यूएई सरकारसँग आवश्यक समन्वय गरी जानकारी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन्, जसको जानकारी श्रम मन्त्रालयले प्रदान गरेको छ।

