Skip to main content

को कति कमाउँछन्? – २०२६ का शीर्ष १० कन्टेन्ट क्रियटरहरूको कमाइ विवरण

१९ असार, काठमाडौं । कन्टेन्ट सिर्जना अब कुनै सामान्य सोख वा समय बिताउने माध्यम मात्र होइन, यो अहिले हलिउडलाई प्रतिस्पर्धा दिने अर्बौं डलरको व्यवसाय बनेको छ। हालै प्रकाशित फोर्ब्स टप क्रियटर्स २०२६ को सूचीले यसलाई पुष्टि गरेको छ। फोर्ब्सले यो र्‍याङ्किङ क्रियटरहरूको कुल आय, फलोअर संख्या, सहभागिता दर र उनीहरूको व्यवसायिक उद्यमशीलता आधारमा बनाउँछ, त्यसैले कम आय हुने क्रियटरहरू पनि उच्च प्रभावका कारण माथिल्लो र्‍याङ्कमा पर्न सक्छन्। एकातिर अमेरिकाको लस एन्जलसमा चलचित्र उद्योग (हलिउड) मा काम गर्ने जनसंख्या ऐतिहासिक रूपमा घटेको छ भने अर्कोतिर क्रियटरहरूले बक्स अफिसमा हलिउडलाई पछाडि पार्दैछन्। उदाहरणको लागि, केन पार्सन्सको हरर वेब सिरिजमा आधारित फिल्म ‘ब्याकरुम्स’ जम्मा १० मिलियन डलर लागतमा बनेर २६० मिलियन डलरभन्दा बढी कमाउन सफल भयो। त्यस्तै, ७ लाख ५० हजार डलर बजेटमा बनेको ‘अब्सेसन’ ले २९० मिलियन डलरभन्दा बढी कमाइ गर्‍यो। फोर्ब्सको ५ वर्षे इतिहासमा पहिलोपटक शीर्ष ५० क्रियटरहरूको कुल आम्दानीले १ अर्ब डलर पार गर्दै १.०२ अर्ब डलर (लगभग १ खर्ब ३६ अर्ब नेपाली रुपैयाँ) पुगेको छ। यो गत वर्षको ८५३ मिलियन डलरको तुलनामा २० प्रतिशतले बढी हो।

यस सूचिमा स्थान पाएका शीर्ष १० कन्टेन्ट क्रियटर को हुन्, उनीहरूले कस्तो कन्टेन्ट बनाउँछन् र कमाइ कति छ ? आउनुहोस् जानकारी गरौं :

१. मिस्टर बिस्ट (जिमी डोनाल्डसन) लगातार पाँचौँ वर्ष फोर्ब्स सूचीमा नम्बर १ स्थान ओगट्न सफल मिस्टर बिस्ट युट्युबका सबैभन्दा ठूलो स्टार हुन्। उनी ठूला र खर्चिला स्टन्टहरू, चुनौतीहरू र विशाल परोपकारी कार्यहरूका लागि चर्चित छन्। युट्युब स्टन्टलाई ग्लोबल प्रोडक्सन स्टुडियोमा परिणत गरेका जिमी डोनाल्डसन युट्युबका बादशाह हुन्। उनका युट्युब च्यानलहरूमा ६४ करोडभन्दा बढी सस्क्राइबर छन् र वार्षिक ५ अर्बभन्दा बढी भ्युज आउँछ। उनी अब एक युट्युबर मात्र नभएर सम्पूर्ण मिडिया साम्राज्य चलाउँछन्। उनको कमाइ युट्युबका विज्ञापन, प्रायोजक, आफ्नो स्न्याक ब्रान्ड (फिस्टेबल्स), लञ्च्ली र अमेजन प्राइममा आउने ‘बिस्ट गेम्स’ जस्ता ठूला प्रोजेक्टहरूबाट हुन्छ। फेब्रुअरी २०२६ मा उनले किशोर-किशोरीलाई लगानी र सम्पत्ति व्यवस्थापन सिकाउने एप ‘स्टेप’ खरिद गरेर व्यक्तिगत वित्त क्षेत्रमा पहिलो पाइला राखेका छन्। अनुमानित कमाइ : ३०० मिलियन डलर (लगभग ४० अर्ब नेपाली रुपैयाँ) फलोअर्स : ८७३ मिलियन

२. धर मान भारतीय मूलका धर मान एक कथावाचक हुन् जो जीवनोपयोगी र प्रेरणादायी छोटा फिल्महरू बनाउँछन्। उनी ‘धर मान स्टुडियोज’ का संस्थापक हुन्, जहाँ २०० भन्दा बढी कर्मचारी कार्यरत छन्। उनका भिडिओहरू १३ भाषामा अनुवाद हुन्छन् र हप्तामा करिब ३० करोड भ्युज प्राप्त गर्दछन्। उनको मुख्य आम्दानी युट्युब विज्ञापनसँगै एडोबी, एनएफएल जस्ता ब्रान्डसँगको कर्पोरेट साझेदारी र टेलिभिजन नेटवर्कसँगको सम्झौता बाट हुन्छ। फक्स इन्टरटेनमेन्टसँग १८ महिनाभित्र ४० वटा भर्टिकल ड्रामा बनाउने सम्झौता गरेका छन्। अनुमानित कमाइ : ६५ मिलियन डलर फलोअर्स : १७१ मिलियन

३. स्टिभन बार्टलेट स्टिभन एक सफल उद्यमी र चर्चित पोडकास्ट ‘द डायरी अफ अ सीईओ’ का सञ्चालक हुन्। होस्ट स्टिभनले आफ्नो भान्साबाट शुरु गरेको अन्तर्वार्ता कार्यक्रम अहिले ४२५ मिलियन डलरको कम्पनी ‘Steven.com’ मा परिणत भएको छ। उनी CEO, वैज्ञानिक, खेलाडी र चर्चित व्यक्तित्वहरूसँग लामो तथा गहिरा अन्तर्वार्ता गर्छन्। उनको अडियो र भिडियो पोडकास्ट विश्वभर निकै लोकप्रिय छ। विज्ञापन, प्रायोजन र पोडकास्टलाई ठूलो मिडिया व्यवसायमा परिणत गरेर उनले आम्दानी गरिरहेका छन्। ‘ड्र्यागन्स डेन’ को छैटौँ सिजनमा उनी लगानीकर्ता (जज) को रूपमा फर्किसकेका छन्। अनुमानित कमाइ : ५२ मिलियन डलर फलोअर्स : ३८.७ मिलियन

४. मार्किप्लायर (मार्क फिसब्याक) एक दशकभन्दा बढी समयदेखि गेमिङ युट्युब दुनियाँमा शाही स्थान ओगटिरहेका मार्क हाल स्वतन्त्र फिल्म निर्माण र हरर फिल्महरू बनाउन व्यस्त छन्। उनी अहिले कन्टेन्ट र हलिउडलाई जोड्न काम गर्दैछन्। गेमिङ भिडियोहरू, ब्रान्ड सम्झौता, पोडकास्ट, मर्चेन्डाइज (लुगाफाटा बिक्री) र आफ्नै फिल्म निर्माणबाट उनको आम्दानी हुन्छ। उनले आफ्नै लगानीमा बनेको फिचर फिल्म ‘आइरन लङ’ उत्तर अमेरिकाका ३,००० हलहरूमा रिलिज भयो र बक्स अफिसमा ५० मिलियन डलर कमाएको थियो। यसमा हल र उनको ५०/५० प्रतिशत शेयर थियो। अनुमानित कमाइ : ३८ मिलियन डलर फलोअर्स : ७६.८ मिलियन

५. रेट र लिङ्क रेट र लिङ्क एक कमेडी जोडी हुन् जो सन् २०१२ देखि दैनिक युट्युब शो ‘गुड मिथिकल मर्निङ’ सञ्चालन गर्दै आएका छन्। वार्षिक २४० एपिसोडहरू निर्माण हुन्छन्। उनीहरूको करिब २ करोड दर्शक छन्। उनीहरूले ‘मिथिकल इन्टरटेनमेन्ट’ नामक आफ्नै स्टुडियो नेटवर्क स्थापना गरेका छन्। दैनिक भिडियोहरू, विभिन्न ब्रान्डहरूसँग सहकार्य र प्रोडक्सन कम्पनीको माध्यमबाट उनीहरूले यो सम्पत्ति जम्मा गरेका छन्। अनुमानित कमाइ : ३७ मिलियन डलर फलोअर्स : ४५.६ मिलियन

६. चार्ली डामेलियो टिकटकमा डान्स भिडियोहरूबाट भाइरल भएकी चार्ली अहिले एक इन्टरटेनर र फेसन पर्सनालिटी भइसकेकी छन्। उनी प्राडाकी एम्बेसडर हुन्। उनको कमाइ अन्य शीर्ष क्रियटरहरूको तुलनामा कम भए पनि प्रभावका कारण उनी छैटौँ स्थानमा छन्। उनले ठूला फेसन ब्रान्डसित सम्झौता, आफ्नै फेसन लाइन, र विभिन्न मनोरञ्जनात्मक प्रोजेक्टहरूबाट आय गर्छिन्। ब्रॉडवे पछि उनले पुनः आफ्ना चर्चित डान्स भिडियोहरू र युट्युब भ्लगहरूमा फर्किएकी छन्। अनुमानित कमाइ : १८ मिलियन डलर फलोअर्स : २०९.८ मिलियन

७. ड्रस्की (ड्रिउ डेसबोर्डेस) ड्रस्की एक चर्चित स्केच कमेडियन हुन्, जो आफ्नो अनस्क्रिप्टेड कमेडी र ‘कुडा बिन रेकर्ड्स’ नामक काल्पनिक रेकर्ड लेबलका लागि भाइरल छन्। उनले इन्टरनेटको भाइरल कमेडीलाई कर्पोरेट भेन्चरमा परिणत गरेका छन्। ब्रान्ड सम्झौता, अभिनय, र लाइभ शोबाट उनी कमाउँछन्। हलिउड सिताराहरू (जस्तै: केभिन हार्ट, टिमोथी चालमेट) सँगको सहकार्य, ब्रान्ड सम्झौता र होस्टिङबाट आम्दानी गरिन्छ। यसै जुन महिनामा उनले प्रतिष्ठित ‘BET Awards’ को होस्टिङ पनि गरेका थिए। अनुमानित कमाइ : २० मिलियन डलर फलोअर्स : ३८.५ मिलियन

८. आई सो स्पीड (ड्यारेन जेसन वाटकिन्स जूनियर) स्पीड एक लाइभ स्ट्रिमिङ सेन्सेसन हुन्, जो गेमिङ र फुटबल विषयक कन्टेन्ट (विशेषत: क्रिस्टियानो रोनाल्डोको फ्यानको रूपमा) बनाएर विश्वभर चर्चित छन्। उनको आम्दानी कुनै एक वैठक वा सम्झौताबाट मात्र होइन, युट्युब विज्ञापन, लाइभ स्ट्रिममा आउने विशाल डोनेसन र विश्वभर हुने टुर्स (जस्तै २०२६ को वर्ल्ड कप समयमा स्ट्रिमिङ) बाट करोडौँ डलर कमाउँछन्। अनुमानित कमाइ : ३० मिलियन डलर फलोअर्स : १८४ मिलियन

९. मार्क रोबर नासाका पूर्व इन्जिनियर मार्क रोबर अहिले विज्ञान र इन्जिनियरिङलाई रमाइलो तरिकाले सिकाउने भिडियोहरू बनाउँछन्। उनलाई सामाजिक मिडियामा ‘म्याड साइन्टिस्ट’ भनिन्छ। युट्युबका भाइरल भिडियोहरू, प्रायोजन, र बालबालिकाका लागि लक्षित शैक्षिक इन्जिनियरिङ किटहरूको व्यापारबाट उनले धेरै कमाउँछन्। रिभियन, गुगल र डिज्नीजस्ता ब्रान्डहरू उनको शैक्षिक कन्टेन्टमा आकर्षित छन्। उनको कम्पनी ‘CrunchLabs’ साइन्स किटहरू बिक्री गर्छ। यसै वसन्तमा उनले अमेरिकाको STEM शिक्षा प्रणालीलाई उर्जावान बनाउने योजनाबारे TED टक पनि दिएका थिए। अनुमानित कमाइ : ३० मिलियन डलर फलोअर्स : ९०.७ मिलियन

१०. कोडी सान्चेज पूर्व पत्रकार कोडी सान्चेज अहिले साना व्यवसाय खरिद गर्ने, लगानी गर्ने र वित्तीय शिक्षा दिने विषयमा कन्टेन्ट बनाउँछन्। उनले फाइनान्सियल आर्किटेक्चर, साना व्यवसायमा लगानी, न्यूजलेटर सञ्चालन र वित्तीय शिक्षाका विभिन्न कोर्स तथा परामर्शबाट आफ्नो साम्राज्य विस्तार गरेकी छन्। साना व्यवसायका टिप्स, वित्तीय शिक्षाका कोर्सहरू, र लगानी सम्बन्धी परामर्शमार्फत उनी टिकटक, इन्स्टाग्राम र युट्युबमा करोडौं फलोअरबाट पर्याप्त आम्दानी गर्छिन्। अनुमानित कमाइ : ३१ मिलियन डलर फलोअर्स : १० मिलियन