Skip to main content

स्विट्जरल्यान्डले अल्जेरियालाई हराउँदै अन्तिम १६ मा प्रवेश गर्यो

स्विट्जरल्यान्डले अब कोलम्बिया र घानाबीच हुने विजेतासँग प्रिक्वार्टरफाइनल खेल्नेछ। १९ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा अल्जेरियालाई २-० ले पराजित गर्दै स्विट्जरल्यान्डले अन्तिम १६ मा प्रवेश गरेको छ। क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक-एक गोल गरेको हो। स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे। पहिलो हाफमा ब्रिल एम्बोलोले दशौं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। जोहान मानजाम्बीको पासमा एम्बोलोले गोल गरेका हुन्।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्विट्जरल्यान्डका लागि दोस्रो हाफको पहिलो मिनेटमै डान एनडोएले गोल गर्दै अग्रता दोब्बर पारे। नटिङहम फरेस्टबाट खेल्ने विङ्गरले दोस्रो हाफ सुरु भएको ४८ सेकेन्डमै गोल गरेका हुन्। ८१औं मिनेटमा स्विट्जरल्यान्डले अग्रता बढाउने सुनौलो अवसर गुमायो। फाबियन रिडरले पोस्टको छेउबाट हानेको बल सिधै अल्जेरियाका किपरको हातमा पुगेको थियो। स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीच शनिबार हुने खेलाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

अल्जेरिया राउण्ड अफ ३२ मा बाहिरिने पाँचौं अफ्रिकी टोली बनेको छ। अहिलेसम्म ६ अफ्रिकी टोलीले राउण्ड अफ ३२ मा प्रतिस्पर्धा गर्दा केवल मोरक्को मात्रै अन्तिम १६ मा पुग्न सकेको छ। अल्जेरियासँगै दक्षिण अफ्रिका, आइभोरी कोस्ट, डिआर कंगो र सेनेगलको यात्रा पनि अन्तिम ३२ मा नै समाप्त भएको छ। अफ्रिकाबाट १० टोलीले विश्वकप खेल्दा ९ टोली नकआउट चरणमा प्रवेश गरेका थिए। अहिले किप भर्डे, इजिप्ट र घानाले राउण्ड अफ ३२ मा खेल्नु बाँकी छ। ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको थियो।