Skip to main content

रोनाल्डोले विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गरे

रोनाल्डोकी दिदी कातिया अभेइरोका अनुसार फिफा विश्वकप २०२६ सकिएपछि रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेछन्। १९ असार, काठमाडौं। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले शुक्रबार विहान फिफा विश्वकपको नकआउट चरणमा पहिलो गोल गरे। रोनाल्डोको पेनाल्टी गोल र गोन्कालो रामोसको इन्जुरी टाइम गोलमा क्रोएसियालाई २-१ ले हराएर पोर्चुगल अन्तिम १६ मा पुगेको छ र उपाधिको सम्भावना कायम राखेको छ। रोनाल्डोले उत्तर अमेरिकामा जारी विश्वकपमा यात्रा लम्ब्याउँदा नयाँ खबर बाहिरिएको छ।

रोनाल्डोकी दिदी कातिया अभेइरोका अनुसार फिफा विश्वकप २०२६ सकिएपछि रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेछन्। पोर्चुगलले क्रोएसियामाथि अन्तिम समयमा जित हासिल गर्दा रोनाल्डोको परिवार स्रोतबाट यस खबर सार्वजनिक भएको हो। सन् २००६ मा जर्मनीमा भएको विश्वकपबाट डेब्यु गरेका रोनाल्डो यो विश्वकपमा लगातार छैटौं पटक खेलिरहेका छन् र दुई दशकदेखि अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय छन्। रोनाल्डोको परिवारबाट सन्यासको खबर सार्वजनिक भएपछि यसलाई सत्य मान्ने धेरैको विश्वास छ।

‘यो समयको मजा लिनुहोस्, यो छिट्टै नै समाप्त हुँदैछ। एक विश्वसनीय स्रोतबाट मलाई प्राप्त जानकारी अनुसार यो उनको ‘अन्तिम नृत्य’ (लास्ट डान्स) हो,’ खेलको प्रत्यक्ष प्रसारणका क्रममा रोनाल्डोकी दिदीले ‘स्पोर्ट टिभी’सँग भनेकी छन्। अन्तर्राष्ट्रिय फुटबलमा २४६ खेल खेलेका रोनाल्डोले १४६ गोल गरिसकेका छन्। उनले क्यारियरमा कुल ९७६ गोल गरिसकेका छन् र १००० गोलको संख्या नजिक पुगेका छन्। क्रोएसिया विरुद्ध गरेको गोलसँगै रोनाल्डोले विश्वकपमा कुल ११ गोल गरेका छन्। क्रोएसियाविरुद्ध खेल्दै रोनाल्डो विश्वकपमा मैदानमा ओर्लने सबैभन्दा वृद्ध आउटफिल्ड खेलाडी बनेका छन् र नकआउट चरणमा गोल गर्ने सबैभन्दा वृद्ध खेलाडी पनि बनेका छन्। क्रोएसियाविरुद्धको गोल गर्दा रोनाल्डो ४१ वर्ष १४७ दिनका थिए। समग्रमा भने विश्वकपमा गोल गर्ने सबैभन्दा वृद्ध खेलाडी क्यामरुनका रोजर मिल्ला हुन्, जसले सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा रसियाविरुद्ध ४२ वर्ष ३९ दिनको उमेरमा गोल गरेका थिए।