Skip to main content

ट्रम्पको चेतावनी: युरोपले दायित्व नबढाए सुरक्षा प्रतिबद्धता कम गरिने

१९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली नेटो सहयोगीहरूलाई लिएर आफ्नो कडा असन्तुष्टि व्यक्त गरेका छन्। अमेरिका–इरान युद्धमा युरोपेली राष्ट्रहरूले सहयोग नगरेको उल्लेख गर्दै तथा रक्षा खर्चमा ठूलो असमानता रहेको भन्दै ट्रम्पले युरोपेली देशहरूको वर्तमान योगदानलाई हास्यास्पद र एकतर्फी सम्बन्ध भएको बताएका छन्। आगामी जुलाई ७ र ८ मा टर्कीको राजधानी अङ्कारामा हुने नेटो शिखर सम्मेलन अगाडि ट्रम्पका तीव्र अभिव्यक्तिहरू संघको भित्रि बढ्दो मतभेदलाई झल्काउँछन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै फ्रान्स र बेलायत लगायतका मुख्य सहयोगीहरूलाई लक्षित गर्दै भने, ‘उनीहरूले हाम्रो पक्षमा उभिएनन्।’ इरानसँगको युद्‌धका समयमा युरोपेली देशहरूले अमेरिकी सेनालाई आफ्ना सैन्य आधार प्रयोग गर्न दिएका छैनन् भन्ने विषयमा ट्रम्पले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए। गठबन्धनमा पारस्परिकता नभएको आरोप लगाउँदै उनले भने, ‘उनीहरूले हाम्रो पक्षमा उभिएनन्!’

ट्रम्पले आफ्नो पोस्टमा अमेरिका र युरोपेली राष्ट्रहरूको रक्षा खर्चबीचको ठूलो असमानता देखाउँदै विभिन्न तथ्याङ्कहरू सार्वजनिक गरेका छन्। उनले भने, गठबन्धनमा अन्य सदस्य राष्ट्रहरूको तुलनामा अमेरिकाले अत्यधिक आर्थिक तथा सैनिक दायित्व बहन गरिरहेको छ। ट्रम्पले सार्वजनिक गरेका तथ्याङ्कहरूले हरेक देशले आफ्नो सशस्त्र बलमा कति खर्च गरिरहेको छ भनेर स्पष्ट देखाउँछन्।

सुरक्षा प्रतिबद्धता घटाउने संकेत गर्दै ट्रम्पले युरोपेली राष्ट्रहरूले आफ्नो सुरक्षाको जिम्मेवारी बढी बहन गर्नुपर्ने कुरा दोहोर्‍याएका छन् र हालको अवस्था यथावत राख्न नसकिने बताएका छन्। यदी युरोपले आफ्नो दायित्व नबढाएमा अमेरिकाले आफ्ना सुरक्षा प्रतिबद्धता क्रमशः घटाउने संकेत दिएका छन्। ट्रम्पको निरन्तर दबाबपछि विगत वर्ष नेटो सदस्य राष्ट्रहरूले सन् २०३५ भित्र आफ्नो रक्षा खर्चलाई देशको कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतसम्म पुर्‍याउने सहमति गरेका थिए। सन् १९४९ मा स्थापना गरिएको नेटो अमेरिका नेतृत्वमा रहेको विश्वकै प्रमुख रक्षा गठबन्धन हो। यसले युरोपमा स्थिरता कायम गर्न, तत्कालीन सोभियत संघको प्रभाव कटौती गर्न र अमेरिकाको वैश्विक रणनीतिक प्रभुत्व विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। अङ्कारा सम्मेलनमा ट्रम्पको यस असन्तुष्टि प्रमुख एजेन्डा बन्ने छ।