फिफा विश्वकपमा क्रिस्टियानो रोनाल्डोले पहिलो पटक नकआउट चरणमा गोल गरेका छन्। १९ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसिया विरुद्ध राउण्ड ३२ को खेलमा रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल गरेका छन्। टोरन्टोमा भइरहेको खेलमा, एक गोलले पछि परेको पोर्चुगलका लागि रोनाल्डोले ६८औँ मिनेटमा बराबरी गोल फर्काएका छन्। क्रोएसियाका भ्लासिचले पोर्चुगलका रिकार्डो भेइगाको ज्यर्सी तानेका थिए, तर भिएआरको सहयोगमा रेफ्रीले पोर्चुगललाई पेनाल्टी दिएका थिए।
यस विश्वकपमा रोनाल्डोको यो तेश्रो गोल हो। यसअघि उनले समूह चरणमा उज्बेकिस्तान विरुद्ध दुई गोल गरिसकेका छन्। विश्वकपमा रोनाल्डोको कुल गोल संख्या ११ पुगेको छ र उनी सर्वाधिक गोल गर्ने खेलाडीमध्ये संयुक्तरूपमा नवौँ स्थानमा छन्। बराबरीपछि खेल अझ रोमाञ्चक बनेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा, ५३औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गरेका थिए।

