लस एन्जल स्टेडियममा जारी खेलमा पेड्रो पोरोले ६६औं मिनेटमा एलेक्स बाएनाको क्रसमा गोल गरे। यो उनको स्पेनको लागि पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो। १८ असार, काठमाडौं। पेड्रो पोरोले दोस्रो हाफमा गोल गरेपछि स्पेनले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा अस्ट्रियाविरुद्ध २-० को अग्रता लिएको छ।
यस अघि मिकेल ओयाजाबालले ३६औं मिनेटमा मार्क कुकुरेलाको पासमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। सन् २०१० को विश्वकप फाइनलमा आन्द्रेस इनेस्टाले नेदरल्यान्ड्सविरुद्ध गरेको गोलपछि नकआउट चरणमा गोल गर्ने पहिलो स्पेनिस खेलाडी ओयाजाबाल बनेका हुन्।
पहिलो हाफमा अस्ट्रियाका गोलरक्षक अलेजान्डर स्लागाले उत्कृष्ट बचाउ गरेपछि स्पेनले गोल गर्ने अवसर गुमाएको थियो। २९औं मिनेटमा स्पेनका मार्क कुकुरेलाले गोल गरे पनि रेफ्रीले अस्ट्रियाका गोलरक्षकलाई अवरोध पुर्याएको भन्दै गोललाई मान्यता दिएनन्। त्यस्तै, ओयाजाबालले ३३औं मिनेटमा गरेको प्रहारलाई अस्ट्रियाका गोलरक्षक अलेजान्डर स्लागाले उत्कृष्ट बचाए। पहिलो हाफको इन्जुरी टाइममा, दोस्रो मिनेटमा एलेक्स बाएनाको फ्रिकिक बारमा लागेर फर्किंदा स्पेनले अग्रता दोब्बर बनाउने अवसर गुमायो। त्यही रिबाउन्डमा यमालले गरेको प्रहार गोलरक्षकले बचाए।

