Skip to main content

अष्ट्रेलिया र इजिप्टः नकआउट चरणमा पहिलो जितका लागि दुवै टोलीको भिडन्त

आजको खेल जितेर दुवै टोली नयाँ इतिहास रच्ने तयारीमा छन्। १९ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत आज अष्ट्रेलिया र इजिप्ट आमनेसामने हुँदैछन्। खेल राति पौने १२ बजे अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा सुरु हुनेछ। आजको खेल जितेर दुवै टोली नयाँ कीर्तिमान कायम गर्ने दाउमा छन्। इजिप्टले आफ्नो विश्वकप इतिहासमा पहिलो पटक समूह चरण पार गरी नकआउट चरणमा प्रवेश गरेको छ भने अष्ट्रेलियाले विश्वकपको नकआउट चरणमा अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन।

सातौंपटक विश्वकप खेलिरहेको अष्ट्रेलियाले दुई पटक अन्तिम १६ मा प्रवेश गरेको भए पनि नकआउट चरणमा सधैं हारको सामना गर्नुपरेको छ। पहिलो खेलमा बेल्जियमसँग १–१ को बराबरी खेलेको इजिप्टले दोस्रो खेलमा न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप इतिहासमा पहिलो जित निकालेको थियो। तेस्रो खेलमा इरानसँग १–१ को बराबरी खेल्दै इजिप्ट ९२ वर्षपछि पहिलोपटक नकआउट चरणमा स्थान बनाउन सफल भएको हो। अर्कोतर्फ समूह चरणको पहिलो खेलमा टर्कियलाई २–० ले हराएर सुखद सुरूवात गरेको अष्ट्रेलिया दोस्रो खेलमा सह–आयोजक अमेरिकासँग २–० ले पराजित भएको थियो। तेस्रो खेलमा पाराग्वेसँग ०–० को बराबरी खेल्दै उसले नकआउटको यात्रा तय गर्‍यो।

डिफेन्स बलियो भए पनि अष्ट्रेलियाले पछिल्ला दुई खेलमा गोल गर्न सकेको छैन। त्यसैले नकआउट चरणमा अघि बढ्न अष्ट्रेलियाका स्ट्राइकरहरूले आज गोल गर्नुपर्ने दबाब छ। अष्ट्रेलिया बलियो रक्षापंक्तिका लागि परिचित छ, जसले समूह चरणमा विपक्षीलाई धेरै गोल गर्ने अवसर दिएको थिएन। टोली मुख्यतया २० वर्षीय युवा सनसनी नेस्टोरी इरानकुंडाको गति र काउन्टर–अट्याकमा निर्भर हुनेछ। वाटफोर्डका यी फरवार्डसँग अविश्वसनीय गति र शक्तिशाली प्रहार गर्ने क्षमता भएकाले उनी इजिप्टको उच्च डिफेन्स लाइनलाई चिर्न मुख्य हतियार बन्न सक्छन्।

आक्रामक खेल शैली अपनाउने इजिप्टले समूह चरणमा ५६.५५ प्रतिशत औसत बल पोजेसन राख्दै बलियो प्रदर्शन दियो। ओमार मार्मुस र मोहम्मद सालाहको जोडी अष्ट्रेलियाको डिफेन्सका लागि ठूलो चुनौती हुनेछ। डिफेन्सलाई मजबुत राख्दै सालाह र मार्मुसको गति प्रयोग गरी काउन्टर–अट्याकमा गोल निकाल्ने रणनीति इजिप्टको रहनेछ। कप्तान सालाह इरानविरुद्धको खेलमा लागेको ह्याम्स्ट्रिङ चोटका कारण पूर्ण फिट छन् कि छैनन् भन्ने अनिश्चितता छ, तर उनको उपस्थितिले मात्र विपक्षी डिफेन्सलाई दबाबमा राख्न र खेलको नतिजा परिवर्तन गर्न पर्याप्त छ।

अष्ट्रेलियाका मुख्य प्रशिक्षक टोनी पोपोभिचले खेलका बारेमा भने, ‘हामीले पूर्ण रूपमा वर्तमानमा केन्द्रित हुनुपर्छ। इतिहास भनेको खेल सकिएपछि बन्ने कुरा हो, त्यसैले त्यो इतिहास रच्न खेलको क्रममा मैदानमा आफ्नो भूमिका सहि रुपमा निभाउनु पर्छ।’ इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले भने, ‘हरेक टोलीका आफ्ना सबल र कमजोर पक्षहरू हुन्छन्। अष्ट्रेलियाले मैदानमा जस्तोसुकै चुनौती प्रस्तुत गरे पनि हामी त्यसको सामना गर्न तयार छौं।’ सन् १९३४ देखि विश्वकपमा सहभागी हुँदै आएको इजिप्टले विश्वकपको राउन्ड अफ १६ मा पुग्ने इतिहास रच्ने अवसर पाएको छ। अष्ट्रेलिया यसअघि सन् २०२२ को कतार विश्वकपमा पनि राउन्ड अफ १६ मा पुगेको थियो र त्यो चरणमा अर्जेन्टिनासँग पराजित भएको थियो। यी दुई टोलीबीच अहिलेसम्म मात्र दुई पटक भेट भएको छ। सन् १९८७ को प्रेसिडेन्ट कपमा अष्ट्रेलियाले पेनाल्टीमा ४–३ ले जितेको थियो भने २०१० को मैत्रीपूर्ण खेलमा इजिप्ट ३–० ले विजयी भएको थियो। यस खेलको विजेताले आगामी जुलाई ७ मा एटलान्टामा हुने ‘राउन्ड अफ १६’ को खेलमा साविक विजेता अर्जेन्टिना र केप भर्डे बीचको विजेतासँग भिड्नेछ।