Skip to main content

एन्डोस्कोपी र कोलोनोस्कोपीमा के फरक छ? विस्तृत जानकारी

एन्डोस्कोपी र कोलोनोस्कोपी पाचन प्रणालीको परीक्षणका लागि गरिने दुई फरक तर महत्वपूर्ण प्रक्रिया हुन्। यी दुवै परीक्षणहरूले पाचन प्रणालीको भित्र प्रत्यक्ष अवलोकन गर्न, समस्या पहिचान गर्न र आवश्यक परे उपचार गर्न सहयोग पुर्‍याउँछन्। यी दुई एउटै होइनन् र शरीरका फरक–फरक भागको परीक्षण गरिन्छ। लक्षणका आधारमा कुन परीक्षण कहिले गर्ने? एन्डोस्कोपी प्रायः बारम्बार एसिडिटी, छाती पोल्ने, खाना निल्न कठिनाइ हुने समस्यामा गरिन्छ। साथै बारम्बार बान्ता वा वाकवाकी, माथिल्लो पेट दुख्ने, मलमा कालो रगत देखिने वा मलको रङ परिवर्तन हुने, अकस्मात तौल घट्ने, रगतसहितको बान्ता जस्ता लक्षणहरूमा पनि यो सिफारिस गरिन्छ।
कोलोनोस्कोपी मुख्यतः तल्लो पाचन तन्त्रको समस्या देखिएमा, रेक्टल रक्तस्राव अर्थात् मलमा रगत देखियो भने, दीर्घकालीन झाडापखाला वा कब्जियत, पेटको तल्लो भाग दुखाइ, कोलन क्यान्सरको पारिवारिक इतिहास र ४५–५० वर्ष उमेरपछि नियमित स्क्रिनिङका लागि गरिन्छ।
कुन अंगको परीक्षण कसरी हुन्छ? एन्डोस्कोपी मुखबाट पातलो, लचिलो ट्युब ‘एन्डोस्कोप’ छिराएर भोजन नली, पेट र सानो आन्द्राको सुरुवाती भागको परीक्षण गरिन्छ। कोलोनोस्कोपी गुद्वारबाट कोलोनोस्कोप छिराएर ठूलो आन्द्रा, रेक्टम र सिग्मोइड कोलनको पूरै परीक्षण गरिन्छ। यसमा पोलिप फेला परे तुरुन्तै हटाउन सकिन्छ, जसले क्यान्सर हुनबाट बचाउँछ।
परीक्षणको तयारी र प्रक्रिया कसरी हुन्छ? एन्डोस्कोपी र कोलोनोस्कोपी परीक्षण गर्नुअघि ६ देखि ८ घण्टा खाली पेट बस्नुपर्छ। केही औषधि रोक्नुपर्ने हुन सक्छ, जस्तै रगत पातलो बनाउने औषधि। लिखित सहमति पनि लिनुपर्छ। एन्डोस्कोपी सामान्यतया ५–१० मिनेट लग्छ। हल्का निद्रा लाग्ने औषधि दिइन सक्दछ। मुखबाट ट्युब छिराइन्छ। कोलोनोस्कोपी २०–४५ मिनेट लाग्न सक्छ। पूरै आन्द्रा सफा गर्न अघिल्लो दिन विशेष ‘लेक्सेटिभ’ झोल पिउनुपर्छ। सेडेसन दिन सकिन्छ, र बिरामीले सामान्यतया केही अनुभव गर्दैनन्।
यी परीक्षणबाट के–के पत्ता लाग्छ? एन्डोस्कोपीबाट –अल्सर, ग्यास्ट्राइटिस, हायटस हर्निया, ट्युमर, गाँठो, ‘जीईआरडी’ ग्यास्ट्रोइसोफेजियल रिफ्लक्स रोग, ‘ब्यारेट्स इसोफेगस’ जुन अन्ननलीको कोशिकामा हुने परिवर्तन हो, ‘सिलिएक रोग’ ग्लुटेनका कारण हुने आन्द्राको रोग, बायोप्सी लिएर क्यान्सरको परीक्षण गर्न सकिन्छ। कोलोनोस्कोपीबाट –ठूलो आन्द्रा वा मलाशयको क्यान्सरको प्रारम्भिक पहिचान, पोलिप हटाउने ‘पोलिपेक्टोमी’, इन्फ्लेमेटरी बाउल डिजिज अर्थात् आन्द्राको दीर्घकालीन सुन्निने समस्या, जस्तै अल्सरेटिभ कोलाइटिस, ‘डाइभर्टिकुलोसिस’ जुन ठूलो आन्द्रामा साना थैलीजस्ता संरचना बन्ने अवस्था हो, रक्तस्रावको स्रोत पत्ता लगाउने।
जोखिम र साइड इफेक्ट एन्डोस्कोपी दुर्लभ : आन्द्रा छेदिने, रक्तस्राव, संक्रमण सामान्य : घाँटी खसखसाउने, हल्का पेट दुखाइ। कोलोनोस्कोपी दुर्लभ : आन्द्रा छेदिने, रक्तस्राव सामान्य : पेट फुलेको महसुस हुनु, ग्यास पास हुनु, हल्का पेट दुखाइ। यी परीक्षणहरू अनुभवी पाचन तथा कलेजो रोग विशेषज्ञ ग्यास्ट्रोएन्टेरोलोजिस्टद्वारा गरिएमा अत्यन्त सुरक्षित मानिन्छन्।
कसलाई र कहिले परीक्षण गर्नुपर्छ? ४५ वर्षभन्दा माथिका सबैलाई ठूलो आन्द्राको क्यान्सर प्रारम्भिक पहिचानका लागि कोलोनोस्कोपी गराउन सिफारिस गरिन्छ। परिवारमा ठूलो आन्द्राको क्यान्सरको इतिहास भए ४० वर्षअघि नै परीक्षण सुरु गर्न सकिन्छ। बारम्बार पाचनसम्बन्धी समस्या देखिएमा एन्डोस्कोपी आवश्यक पर्न सक्छ।