Skip to main content

कांग्रेस सांसद गुरुङको आग्रह– विद्युत् व्यवसायमा उपयुक्त कदम चाल्न जरुरी

१९ असार, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद दुर्गा गुरुङले विद्युत् व्यवसायमा सरकारले उपयुक्त र प्रभावकारी कदम चाल्न आवश्यक रहेको जनाएकी छिन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको विनियोजन विषयक छलफल तथा विचार-विमर्शको क्रममा उनले यस्तो धारणा राखेकी हुन् ।

सांसद गुरुङले उत्पादन भएको विद्युत् पर्याप्त प्रशारण लाइन र संग्रहणको उपयुक्त व्यवस्थाको अभावका कारण पूर्णरूपले उपयोग हुन नसकेको भन्दै सरकारले यसका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिइन् । ‘आज पनि धेरै जलविद्युत आयोजना निर्धारित समयमा सम्पन्न भएका छैनन् । कतै प्रशारण लाइन निर्माणमा ढिलाइ भइरहेको छ भने कतै जग्गा अधिग्रहण सम्बन्धी समस्या देखिएको छ । कतै वातावरणीय प्रभाव मूल्यांकन प्रक्रियामा अवरोध आएको छ,’ उनले स्पष्ट पारिन्, ‘परिणामस्वरूप उत्पादन भएको विद्युत् पूर्णरूपले सदुपयोग हुन सकेको छैन । यसलाई केवल प्रशासनिक कमजोरी मात्र ठान्न मिल्दैन, राष्ट्रिय स्रोतको उपयोगमा पनि गम्भीर कमजोरी देखिन्छ । ऊर्जा व्यवसायमा सरकारले उपयुक्त र सूझबूझपूर्ण कदम चाल्नु आवश्यक छ ।’ सांसद गुरुङले विद्युत् खपत क्षमताको वृद्धिका लागि पनि सरकारको विशेष ध्यान आवश्यक भएको कुरा औंल्याइन् ।