Skip to main content

कोलम्बियालाई रोक्ने रणनीतिमा घाना

अमेरिकाको कान्सास सिटी स्टेडियममा हुने उक्त खेल शनिबार बिहान सवा ७ बजेबाट सुरु हुनेछ। १९ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को अन्तिम खेलमा कोलम्बिया र घाना खेल्दैछन्। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकका साथ समूह ‘के’ को विजेता बनेको कोलम्बिया उच्च मनोबलका साथ मैदान उत्रनेछ। अर्कोतर्फ, समूह ‘एल’मा तेस्रो स्थानमा रहँदै नकआउट चरणमा स्थान बनाएको घाना रक्षात्मक रणनीतिका साथ अप्रत्याशित नतिजा निकाल्ने दाउमा छ।

प्रशिक्षक नेस्टर लोरेन्जोको नेतृत्वमा कोलम्बियाले यो विश्वकपमा परिपक्व खेल देखाएको छ। समूह चरणमा उज्वेकिस्तान र डीआर कङ्गोलाई पराजित गरेको कोलम्बियाले पोर्चुगलसँग गोलरहित बराबरी खेलेको थियो। कप्तान जेम्स रोड्रिगेजको रचनात्मकता र लुइस डियाजको विङ्ग्सबाट हुने आक्रमण घानाका लागि प्रमुख चुनौती बन्न सक्छन्। रक्षापङ्क्तिमा डेभिन्सन सान्चेज र जेहोन लुकुमीको जोडी मजबुत देखिएको छ।

कार्लाेस क्विरोजको प्रशिक्षणमा रहेको घाना खेललाई ढिलो गतिमा लैजाँदै काउन्टर–अट्याकमा अवसर सिर्जना गर्न खप्पिस छ। घानाले समूह चरणमा बलियो इंग्ल्याण्डलाई गोलरहित बराबरीमा रोकेर आफ्नो रक्षात्मक क्षमता प्रमाणित गरिसकेको छ। घानाका लागि म्यानचेस्टर सिटीका विङ्गर एन्टोइन सेमेन्योको चोट चिन्ताको विषय बनेको छ। सेमेन्यो पूर्ण फिट नभएको भए जोर्डन आयुमाथि आक्रमणको थप जिम्मेवारी रहनेछ।

मध्यभागमा थोमस पार्टी र रिचार्ड रियोसबीचको भिडन्तले खेलको गति तय गर्नेछ। विश्वकपको मञ्चमा कोलम्बिया र घानाबीच यो पहिलो भेट हो। खेलअघि कोलम्बियाका प्रशिक्षक नेस्टर लोरेन्जोले अगाडि बढ्ने आशासहित मैदानमा उत्रिने बताए। उनले भने, ‘घाना एक सङ्गठित टोली हो। तर जब उनीहरू दबाब दिन्छन् र जब उनीहरू आक्रमण गर्छन्। तब उनीहरू निकै आक्रामक बन्छन्।’ घानाका प्रशिक्षक कार्लाेस क्विरोजले सजग र सावधानी अपनाएर खेल्ने विश्वास व्यक्त गरे। ‘कोलम्बिया निकै राम्रो टोली हो। तर संसारमा कुनै पनि टोली पूर्ण हुँदैनन्। उनीहरूका केही कमजोरी र केही सबल पक्षहरू छन्। त्यसैले हामीले पूरा मिनेटसम्म सतर्क रहनुपर्छ, सजग हुनुपर्छ र निकै सावधानी अपनाउनुपर्छ,’ उनले भने। यो खेलको विजेताले क्वार्टरफाइनल प्रवेशका लागि ७ जुलाईमा बीसी प्लेस भ्यानकुभरमा स्विट्जरल्याण्डसँग खेल्नेछ।