विश्वकपमा खराब प्रदर्शनपछि जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले राजीनामा दिएका छन्
विश्वकपबाट बाहिरिएको केही दिनमै उनले जारी गरेको विज्ञप्तिमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। १९ असार, काठमाडौं। फिफा विश्वकप २०२६ मा जर्मनीको खराब प्रदर्शनपछि प्रशिक्षक जुलियन नागेल्सम्यानले आफ्नो पदबाट राजीनामा दिएका छन्। विश्वकपबाट बाहिरिएको केहीबेरपछि उनले एउटा विज्ञप्ति जारी गर्दै पद छाडेको बताएका छन्। जर्मनीले पाराग्वेसँग राउन्ड अफ ३२ को पेनाल्टी सुटआउटमा हार खे¥यो र प्रतियोगिताबाट बाहिरियो। समूह चरणमा, जर्मनीले कुरासाओलाई ७–१ र आइभरी कोष्टलाई २–१ ले पराजित गरेको थियो, तर इक्वेडरसँग २–१ ले पराजित भएर पछि हट्नु परेको थियो।
उनीले विज्ञप्तिमा भनेका छन्, ‘प्रतियोगिताबाट बाहिरिएका दिनहरूमा मैले धेरै सोचविचार गरेँ र व्यक्तिगत तथा महासंघभित्रका विश्वसनीय व्यक्तिहरूसँग परामर्श गरें। यो निर्णय मेरो लागि कतै पनि सजिलो थिएन। मेरो मुख्य प्राथमिकता सधैं टोलीको सफलता नै रह्यो। यस्तो निराशाजनक परिस्थितिपछि उनीहरू (खेलाडीहरू) नयाँ सुरुवातको अवसर पाउन योग्य छन्।’ विश्वकपबाट बाहिरिएपछि राजीनामा दिने उनी छैटौं प्रशिक्षक हुन्। नागेल्सम्यान सेप्टेम्बर २०२३ मा हान्सी फ्लिकको उत्तराधिकारीका रूपमा जर्मनीको प्रशिक्षक नियुक्त भएका थिए। उनले जर्मनीलाई आफ्नो देशमा भएको यूईएफए युरो २०२४ को क्वाटरफाइनल र २०२५ को यूईएफए नेशन्स लिगको सेमिफाइनलसम्म पुर्याएका थिए। नागेल्सम्यानसँगै उनका सहायक प्रशिक्षक बेन्जामिन ग्लक र बेन्जामिन ह्युब्नरले पनि टोली छाड्ने निर्णय गरेका छन्।

