१९ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा गम्भीर लापरबाही गर्ने विभिन्न फर्महरूलाई जरिवाना सहित कारबाही गरेको छ। विभागले शुक्रबार गरेको अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा खतरा पु¥याउने र नियम उल्लंघन गर्ने ४ वटा फर्महरूलाई जम्मा ४ लाख २६ हजार रुपैयाँ जरिवाना लगाएको छ। विभागका अनुसार काठमाडौंको न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एण्ड बार प्रालिलाई सबैभन्दा बढी २ लाख १ हजार रुपैयाँ जरिवाना लगाइएको छ। उक्त रेस्टुरेन्टमा पिज्जाको लागि प्रयोग हुने तेलमा साङ्लो फेला परेको र म्याद नाघेका ‘साल्सा सस’ र ‘फ्रुट सिरप’ प्रयोग भएको पाइएको छ।
त्यस्तै, कीर्तिपुरको चोभारस्थित ओरिजिन भेन्चर्स ग्रुप प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ। उक्त फर्मले म्याद नाघेका सेन्चुरी सेकुवा मसला, लेमन आइस टी र लेबल नभएका पाउरोटीहरू बिक्रीका लागि राखेको पाइएको छ। विभागले ती सामग्रीहरू जफत गरी नष्ट समेत गरेको छ। अनुगमनकै क्रममा खरिद बिल नदेखाएको पाइएपछि टेकुस्थित इन्द्रेणी पेन्ट्स एण्ड हार्डवेयरलाई २० हजार रुपैयाँ र नयाँ बानेश्वरको पोखरेली लुम्बिनी तन्दुरी भोजनालयलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। शुक्रबार जम्मा १२ वटा उद्योग तथा फर्महरूमा अनुगमन गरिएको थियो। जरिवानाबाहेक विभागले मध्यपुर थिमीको एकेआर फुड्स र ललितपुरको सानेपास्थित म्याट्रिक्स प्रालिलाई व्यवसाय दर्ता प्रमाणपत्र, प्यान र खरिद–बिक्री बिलसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। अनुगमनको क्रममा कमजोर पक्ष देखिएका अन्य ६ वटा फर्महरूलाई सुधारका लागि सामान्य निर्देशन दिइएको छ।

