१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेलहरू समाप्त भएपछि अन्तिम १६ टोलीहरूको टुङ्गो लागेको छ । ४ पटकका पूर्व विजेता जर्मनी, गत संस्करणमा तेस्रो स्थान हासिल गर्ने क्रोएसिया, प्रमुख दावेदार मानिएको नेदरल्यान्ड्स, एसियाली शक्ति जापान, अफ्रिकी डार्क हर्स सेनेगलजस्ता टोलीहरू राउन्ड अफ ३२ बाटै बाहिरिएका छन् ।
साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, चौथो स्थान हासिल गरेको मोरक्को, युरोपका शक्तिशाली टोलीहरू स्पेन, इंग्ल्यान्ड र बेल्जियमसहित १६ टोलीहरू अब अन्तिम आठमा प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । राउन्ड अफ ३२ मा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो । ब्राजिलले जापानलाई पराजित गर्दा जर्मनी पाराग्वेसँग टाइब्रेकमा पराजित भयो ।
नेदरल्यान्ड्सलाई मोरक्कोले टाइब्रेकमा पराजित गरेको छ भने नर्वेले आइभोरी कोस्टलाई र फ्रान्सले स्वीडेनलाई हराएका छन् । मेक्सिकोले इक्वेडरलाई पराजित गर्यो, इंग्ल्यान्डले कङ्गोलाई र बेल्जियमले सेनेगललाई पराजित गर्यो । अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाको चुनौती समाप्त गर्यो । स्पेनले अस्ट्रियालाई पराजित गर्यो भने पोर्चुगलले क्रोएसिया र स्विट्जरल्यान्डले अल्जेरियालाई पराजित गर्यो । इजिप्टले अस्ट्रेलियालाई टाइब्रेकमा पराजित गर्यो ।
अर्जेन्टिनाले केप भर्डेलाई र कोलम्बियाले घानालाई पराजित गरेर राउन्ड अफ १६ मा स्थान सुनिश्चित गर्यो । राउन्ड अफ १६ को पहिलो खेल क्यानडा र मोरक्कोबीच हुनेछ, जुन आज राति पौने ११ बजे सुरु हुनेछ । त्यस्तै, अर्को खेलमा पाराग्वे र फ्रान्सले भोलि बिहान पौने ३ बजे प्रतिस्पर्धा गर्नेछन् । ब्राजिल र नर्वेबीच सोमबार बिहान पौने २ बजेबाट खेल सुरु हुनेछ । त्यही दिन बिहान मेक्सिको र इंग्ल्यान्ड पनि प्रतिस्पर्धा गर्नेछन् । मंगलबार बिहान पौने १ बजे पोर्चुगल र स्पेन आमनेसामने हुनेछन् भने त्यही दिन अमेरिकाले पनि बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार राति पौने १० बजे अर्जेन्टिना र इजिप्ट आमनेसामने हुनेछन् भने बुधबार बिहान पौने २ बजे स्विट्जरल्यान्ड र कोलम्बिया भिड्नेछन् ।

