Skip to main content

दक्षिण एसियाली शारीरिक सुगठनमा विनुले दोहोरो पदक जितिन्

२० असार, काठमाडौं । नेपालकी विनु जिटीले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दोहोरो पदक जितेकी छन्। भुटानको थिम्पुमा भएको प्रतियोगिताको अन्तिम दिन शनिबार विनुले महिला स्विमसुटमा स्वर्ण र मोडल फिजिकमा रजत पदक हात पारेकी हुन्, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीले जानकारी दिए। राजभण्डारीका अनुसार, अन्तिम दिन विनुको अतिरिक्त नेपालले १ स्वर्ण र १ रजत पदक थप गरेको छ।

पुरुष ८० केजीतर्फ सगेन्द्र सिंहले स्वर्ण पदक जिते। महिला टिम च्याम्पियनसिपमा नेपालले रजत पदक प्राप्त गर्‍यो। पुरुष ७५ केजीतर्फ दीपजंग रोका मगर पाँचौँ स्थानमा रहे। प्रतियोगितामा नेपालले जम्मा ३ स्वर्ण, ३ रजत र १ कांस्य पदक जितेको छ। यसअघि, पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटर मुनि आकाश श्रेष्ठले स्वर्ण, महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत, र पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटर माथि पुकार शाक्यले कांस्य पदक जितेका थिए।

दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करणदेखि निरन्तर सहभागी नेपालले कुल पदक संख्या १५ स्वर्ण, १९ रजत र २० कांस्यमा पुर्याएको छ। नेपाली टोली आइतबार स्वदेश फर्कने छ।