Skip to main content

युक्रेनमा ऊर्जा सङ्कटका चर्को प्रभाव र यसको कारण

युक्रेनले यस वर्षको मध्यसम्ममा आफ्नो ग्यास भण्डारणमा करिब ७ अर्ब घनमिटर (बीसीएम) ग्यास मात्र संग्रह गर्न सफल भएको छ। जाडो मौसम कटाउनका लागि कम्तीमा १३.२ बीसीएम ग्यास आवश्यक रहेको अनुमान गरिएको छ। रूसी समाचार संस्था टासले युक्रेनी ऊर्जा मन्त्रालयका तथ्यांक आधार मानी गरेको गणनाले यस्तै देखाएको हो।

थर्मल कोइलाको भण्डारण २२ लाख टन पुगेको भए पनि यो मात्र गर्मी र शरद ऋतुसम्मको आवश्यकतालाई सम्बोधन गर्न सक्नेछ। युक्रेनले ग्यास र थर्मल कोइलाको भण्डारण बढाउन प्रयास गरिरहे पनि युरोपेली ऊर्जा बजारमा बढ्दै गएको मूल्य र युरोपेली सङ्घ (ईयू) देशहरूमा ग्यासको उच्च मागले यसमा बाधा पुर्याइरहेको छ।

ईयूका देशहरू आफैं पनि जाडो मौसमको तयारीमा ग्यास भण्डारण गर्न कठिनाइ भोग्न बाध्य छन्। ऊर्जा प्रणाली पुनर्स्थापना र वितरित विद्युत् उत्पादन नेटवर्क निर्माण गर्ने प्रयासहरू भइरहेपनि युक्रेनको ऊर्जा प्रणालीको क्षमता अझै कम छ।

मध्य गर्मीसम्ममा यसको उत्पादन क्षमता आवश्यक १८ देखि १९ गिगावाट (जीडब्लू) को सट्टा ११ देखि १२ जीडब्लूमा सीमित छ। गर्मीको लहर (हिटवेभ) का कारण विद्युत् खपतमा वृद्धि हुँदा युक्रेन अहिले तापक्रम बढेको जून-जुलाईमा नै १ देखि २ जीडब्ल्यू बराबर विद्युत् अभाव भोगिरहेको छ।