२१ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ चरणमा आज राति पाँच पटकका च्याम्पियन ब्राजिल र युरोपेली शक्तिशाली टोली नर्वेबीच अत्यंत रोमाञ्चक र आक्रामक भिडन्त हुँदैछ। सन् २००२ यता विश्वकप उपाधि जित्न नसकेको ब्राजिलले महान् प्रशिक्षक कार्लो एन्सेलोटीको रणनीतिमा आफ्नो २४ वर्षे सूखा तोड्ने लक्ष्यसहित मैदानमा उतरिरहेको छ। अर्कोतर्फ, जारी विश्वकपमा ४ खेलमा १० गोल गरेर कीर्तिमान राख्दै मैदानभित्र गोलका वर्षा र मैदानबाहिर आफ्ना समर्थकहरूको जबरजस्त उर्जाका कारण सबैको मन जितिरहेको नर्वेले ब्राजिल टोलिलाई स्तब्ध पार्दै नयाँ इतिहास रच्ने तयारीमा छ।
यो ‘गर या मर’ शैलीको दबावयुक्त खेलमा दुवै टोलीका प्रशिक्षकहरूको रणनीति अतिमहत्त्वपूर्ण हुने नै छ, तर मैदानभित्र प्रिमियर लिगका पुराना प्रतिद्वन्द्वी र विश्वस्तरका स्टारहरूबीचको व्यक्तिगत भिडन्त खेलको नतिजा जुनसुकै मिनेटमा बदल्न सक्छ। यसै सन्दर्भमा आजको खेलमा दुवै टोलीका यी ३-३ खेलाडीहरूको प्रदर्शन सबैभन्दा निर्णायक बन्न सक्छ:
ब्राजिलका भिनिसियस जुनियर (विङ्गर): रियल मड्रिडका यी जादुमयी विङ्गर अहिले ब्राजिलका मुख्य नायक हुन्। जारी विश्वकपको समूह चरणका तीनै खेलमा गोल गरि उत्कृष्ट लयमा रहेका भिनिसियसको गति र ड्रिब्लिङ क्षमता नै नर्वेको डिफेन्स भत्काउने ब्राजिलको मुख्य हतियार हुनेछ।
ग्याब्रियल मागल्हास (डिफेन्स): आर्सनलका यी भरपर्दा सेन्टर-ब्याक डिफेन्डर माथि आज विश्वकै सबैभन्दा खतरनाक स्ट्राइकर एर्लिङ हालान्डलाई रोक्नु सबैभन्दा ठूलो जिम्मेवारी छ।
एन्ड्रिक (मिडफिल्ड): १९ वर्षीय यी भावुक युवा खेलाडी माथि प्रशिक्षक एन्सेलोटीको विश्वास बढ्दो छ।
नर्वेका एर्लिङ हालान्ड (स्ट्राइकर): विश्व फुटबलका ‘गोल मेसिन’ हालान्डले जारी विश्वकपमा ५ गोल गरिसकेका छन्। नर्वेको जर्सीमा ५३ खेलमा ६० गोलको अविश्वसनीय रेकर्ड राखेका हालान्ड र ब्राजिलका डिफेन्डर ग्याब्रियलबीचको शारीरिक र रणनीतिक भिडन्त नै यस खेलको सबैभन्दा ठूलो केन्द्रविन्दु हुनेछ।
मार्टिन ओडेगार्ड (मिडफिल्ड): आर्सनलका यी प्लेमेकर तथा नर्वेका कप्तान टोलीका वास्तविक ‘मस्तिष्क’ हुन्।
एन्टोनियो नुसा (विङ्गर): राउन्ड अफ ३२ मा आइभोरी कोस्टविरुद्ध शानदार कर्लिङ गोल गरेर टोलीलाई जिताएका नुसा अहिले उत्कृष्ट लयमा छन्।






