२१ असार, खोटाङ। सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँको लागतमा मोटरकारलगायत विभिन्न सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण गरिएको छ। निर्माण सम्पन्न भएसँगै उक्त पुल सञ्चालनमा आएको छ। संघीय सरकारले दिएको समपूरक अनुदानमा निर्मित यस पुलमा शनिबारदेखि सवारीसाधन सञ्चालन अनुमति प्राप्त भएको छ।
पक्की पुल निर्माण भएपछि खोटाङ–पाप्माखाम भञ्ज्याङ सडकमा वर्षभरि सहज रूपमा यातायात व्यवस्था सञ्चालन गर्न सकिने भएको छ। यो पुलको लम्बाइ २० दशमलव ९० मिटर छ। यसैबीच, २०७५ सालमा ट्र्याक खोलेको ३३ किलोमिटर लामो खोटाङबजार–पाप्माखाम भञ्ज्याङ सडक धमाधम सुधार हुँदैछ। यस कार्यका लागि कोशी प्रदेश सरकारले दुई करोड रुपैयाँ विनियोजन गरेको भौतिक पूर्वाधार मन्त्रालयले जानकारी दिएको छ।






