२१ असार, काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सञ्चालन हुने खेलाडी अक्सनमा १५५ खेलाडी छनोट गरेको छ। क्यानका अनुसार प्रतियोगितामा कुल ३४७ खेलाडीले नाम दर्ता गराएका थिए, जसबाट भोलि सोमबार काठमाडौंमा हुने अक्सनका लागि १५५ खेलाडी छानिएका हुन्। छनोट खेलाडीमा क्याटेगोरी ‘ए’ मा ५, ‘बी’ मा २७ र ‘सी’ मा १२३ खेलाडी रहेका छन्।
अक्सनमार्फत आठ फ्रेन्चाइज टोलीहरूले कुल ५२ खेलाडी अनुबन्ध गर्नेछन्। यसपटक प्रत्येक फ्रेन्चाइज टोलीमा दुई/दुई जना थप नेपाली खेलाडी समावेश गर्न क्यानले योजना बनाएको छ। मार्की र ट्यालेन्ट हन्टबाट छनोट गरिने खेलाडीसहित प्रत्येक टोलीमा कुल १४ नेपाली खेलाडी हुने व्यवस्था गरिएको छ। अक्सनअघि आठ टोलीसँग रहेको बाँकी पर्स (रकम) यस प्रकार छन्: सुदूरपश्चिम रोयल्स – रु ४२ लाख ५० हजार, काठमान्डु गोर्खाज – रु ३४ लाख, कर्णाली याक्स – रु ४२ लाख, चितवन राइनोज – रु ४२ लाख, पोखरा एभेन्जर्स – रु ४५ लाख ५० हजार, लुम्बिनी लायन्स – रु ४९ लाख २५ हजार, विराटनगर किङ्स – रु ५१ लाख ५० हजार, जनकपुर बोल्ट्स – रु ६६ लाख २५ हजार।






