Skip to main content

केनको छैटौं गोलसँगै इंग्ल्यान्ड मेक्सिकोविरुद्ध ३-१ पर अग्रता कायम

२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ खेल अन्तर्गत इंग्ल्यान्डले सहआयोजक मेक्सिकोविरुद्ध ३-१ को अग्रता बनाएको छ। मेक्सिकोको घरेलु मैदान अज्टेका स्टेडियममा जारी खेलमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले ६०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता थपेका हुन्। इंग्ल्यान्डले दस खेलाडीमा सीमित भए पनि यो अग्रता कायम राखेको छ। यो विश्वकपमा केनले बनाएको छैटौं गोल हो। उनी हाल सर्वाधिक गोलकर्ता सूचिमा चौथो स्थानमा छन्।

केनले समूह चरणमा क्रोएसिया विरुद्ध दुई र पानामा विरुद्ध एक गोल गरेका थिए भने राउण्ड अफ ३२ मा डिआर कंगोविरुद्ध दुई गोल गरेका थिए। समग्र विश्वकप करियरमा यो केनको १४ औं गोल हो, जसले उनलाई विश्वकपमा संयुक्त रूपमा पाँचौं सर्वाधिक गोल गर्ने खेलाडीको रूपमा स्थापित गरेको छ। खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको खेल एक घण्टा ढिला सुरु भएको थियो। इंग्ल्यान्डका जुड बेलिङहमले ३४औं र ३६औं मिनेटमा दुई गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए।

केही समयपछि मेक्सिकोका जुलियन क्विनोनेसले गोल फर्काए। बेलिङहमले ३६औं मिनेटमा बुकायो साकाको क्रसमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए र त्यसको एक मिनेटपछि कप्तान केनलाई असिस्ट गर्दै दोस्रो गोल गरे। मेक्सिकोविरुद्ध दुई गोल गरेपछि बेलिङहमको कुल गोल संख्या चार पुगेको छ। उनले समूह चरणमा क्रोएसिया र पानामा विरुद्ध एक-एक गोल गरेका थिए।

दुई गोलले पछि परेको मेक्सिकोले ४२औं मिनेटमा जुलियन क्विनोनेसको गोलले स्कोरलाई २-१ मा घटायो। चालु विश्वकपमा क्विनोनेसको यो चौथो गोल हो। उनले दक्षिण अफ्रिका, चेक रिपब्लिक र इक्वेडर विरुद्ध पनि गोल गरेका थिए। खेलको ४९औं मिनेटमा निको ओ’रेलीको प्रहार पोस्टमा लागेको हुँदा इंग्ल्यान्डले थप गोल गर्ने अवसर गुमायो। ५४औं मिनेटमा मेक्सिकोका जेसस गालार्डोलाई खराब ट्याकल गरेको कारण जारेल क्वान्साहलाई रेफ्रीले भिएआरको सहयोग पुर्‍याएर सिधै रातो कार्ड देखाउँदै मैदानबाट निकाल्यो।