Skip to main content

इंग्ल्यान्डले मेक्सिकोविरुद्ध पहिलो हाफमा २-१ को अग्रता कायम राख्यो

खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको मुकाबला एक घण्टा ढिला सुरु भएको थियो। २२ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा इंग्ल्यान्डले सहआयोजक मेक्सिकोविरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको छ। मेक्सिकोको घरेलु मैदान अज्टेका स्टेडियममा खेलेको खेलको पहिलो हाफमै तीन गोल भएका छन् र इंग्ल्यान्डले अग्रता बनाएको छ। इंग्ल्यान्डका जुड बेलिङहमले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाएका थिए। त्यसपछि मेक्सिकोका जुलियन क्विनोनेसले गोल फर्काएका छन्।

बेलिङहमले ३६औं मिनेटमा बुकायो साकाको क्रसमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसको एक मिनेटपछि उनले कप्तान ह्यारी केनको असिस्टमा दोस्रो गोल गरे र इंग्ल्यान्डको अग्रता दोब्बर बनाए। मेक्सिको विरुद्ध दुई गोल गरेपछि बेलिङहमको गोल संख्या ४ पुगेको छ। बेलिङहमले समूह चरणमा क्रोएसिया र पानामा विरुद्ध एक-एक गोल भनेका थिए। दुई गोलले पछि परेको मेक्सिकोले तुरुन्तै प्रतिक्रिया दियो। मेक्सिकोका जुलियन क्विनोनेसले ४२औं मिनेटमा गोल गर्दै अन्तर कम गरेका छन्। जारी विश्वकपमा यो क्विनोनेसको चौथो गोल हो। उनले यसअघिका समूह चरणका खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिकलाई एक-एक गोल गरेका थिए भने राउण्ड अफ ३२ मा इक्वेडरविरुद्ध पनि गोल गरेका थिए।