Skip to main content

लोकतन्त्रमा छेडखानी भए विद्रोह हुने चेतावनी

२२ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राइले लोकतन्त्रमा छेडखानी गर्न खोजे विद्रोह हुने चेतावनी दिएका छन् । ‘संविधान संशोधनको नाममा लोकतन्त्रमाथि छेडखानी गरियो भने फेरि सिंहदरवारको विरुद्धमा वा सिंहदरवारमा बसेका शासकहरू विरुद्ध पुनः विद्रोह हुनेछ’, उनले सोमबार प्रतिनिधिसभा बैठकमा बताएका छन्।

चुनावअघि मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बालेन्द्र शाह (बालेन)ले प्रदेशलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। तर प्रधानमन्त्री भएपछि त्यो प्रतिबद्धता व्यवहारमा नआएको भन्दै विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको प्रतिवेदनमा प्रदेशसभा खारेज गर्ने विषय समावेश थियो, जुन महाधिवेशनले अघि बढाएको छ। यो पृष्ठभूमिमा श्रम संस्कृति पार्टीका सांसद राइले संविधान संशोधन गर्दा अझ बलियो प्रदेश व्यवस्था बनाउने र थप समावेशी अधिकार सुनिश्चित गर्नुपर्ने बताउँदै महिलाको सहभागिता राज्यका सबै निकायमा ५० प्रतिशत पुर्‍याउने गरी संविधान संशोधन गर्न सुझाव दिएका छन्। नत्र लोकतन्त्रमाथि छेडखानी गर्न खोजिए पुनः विद्रोह हुने चेतावनी दिएका छन्।