Skip to main content

पोर्चुगल र स्पेनको भिडन्त: रोनाल्डो र यमालको आमना-सामना

राउन्ड अफ ३२ मा स्पेनले अष्ट्रियामाथि सहज जित निकाल्दा पोर्चुगलले क्रोएसियामाथि कठोर जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ। २२ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल र स्पेन आमनेसाम्ने हुँदैछन्। अमेरिकाको डलास स्टेडियममा हुने उक्त खेल राति पौने एक बजेबाट सुरु हुनेछ। राउन्ड अफ ३२ मा स्पेनले अष्ट्रियामाथि सहज जित निकाल्दा पोर्चुगलले क्रोएसियामाथि कठिन जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो। समूह ‘एच’ को विजेता स्पेन यस विश्वकपमा लयमा देखिएको छ। अन्तिम ३२ को खेलमा अस्ट्रियालाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै प्रशिक्षक लुइस डे ला फुएन्टेको टोलीले आफ्नो आक्रामक र बलियो उपस्थिति प्रमाणित गरिसकेको छ। जारी विश्वकपमा स्पेनले अहिलेसम्म एउटा पनि गोल खाएको छैन। गोलकिपर उनाई सिमोनले लगातार ५१९ मिनेट गोल नखाई विश्वकपको इतिहासमा ३६ वर्ष पुरानो कीर्तिमान समेत तोडिसकेको छ।

समूह ‘के’ को उपविजेता बनेको पोर्चुगलले भने नकआउट चरणसम्म आइपुग्न निकै संघर्ष गर्नुपर्‍यो। राउन्ड अफ ३२ मा क्रोएसियाविरुद्धको खेलमा १–० ले पछि परेको अवस्थामा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी र थप गरिएको समयमा गोन्सालो रामोसको निर्णायक हेडर गोलको मद्दतले पोर्चुगल २–१ को पुनरागमन जित निकाल्दै राउन्ड अफ १६ मा प्रवेश गरेको हो। यो खेललाई दुई देशबीचको भिडन्तका रूपमा मात्र नभई दुई फरक पुस्ताका खेलाडीहरू ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र १८ वर्षीय युवा लामिन यमालबीचको भिडन्तका रूपमा पनि हेरिएको छ। रोनाल्डोले सन् २००६ मा विश्वकपमा डेब्यु गर्दा यमाल जन्मिएको थिएन। तर यमालले अब आफूभन्दा दोब्बर उमेर जेठा रोनाल्डोसँग विश्वकपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

४१ वर्ष पुगिसकेका रोनाल्डोका लागि यो सम्भवतः करियरकै अन्तिम विश्वकप खेल हुन सक्छ। उनी लियोनेल मेसी जस्तै आफ्नो अन्तर्राष्ट्रिय करियरको उत्तरार्धमा विश्वकप ट्रफी जित्ने लक्ष्यमा छन्। उनले उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाइसकेका छन्। डेब्यु गरिरहेका स्पेनका १८ वर्षीय विंगर यमाल यस विश्वकपमा आफ्नो चोटपटकपछि लयमा फर्किंदै टोलीका मुख्य स्तम्भ बनेका छन्। सुरुवाती खेलहरूमा कम समय मैदान उत्रिएका यमालले नकआउट चरणमा भने आफ्नो पुराना जादुमयी खेल कौशल देखाउन थालेका छन्। उनी पोर्चुगलका लागि घातक खेलाडी बन्न सक्छन्। स्पेनका सेन्टर फरवार्ड मिकेल ओयार्जाबाल उत्कृष्ट लयमा छन्। उनले यस प्रतियोगितामा ४ गोल गरिसकेका छन्। राष्ट्रिय टोलीका लागि सुरुवाती ११ मा खेलेका पछिल्ला १६ खेलमा उनले १७ गोल गरिसकेका छन्।

स्पेन र पोर्चुगलबिचको खेलको नतिजा मिडफिल्डमा कसको नियन्त्रण रहन्छ भन्ने कुराले निर्धारण गर्ने देखिन्छ। स्पेनका रोड्री र पेड्रीको जोडीविरुद्ध पोर्चुगलका भिटिन्हा, जोआओ नेभेस र ब्रुनो फर्नान्डेस मैदानमा उत्रिनेछन्। खेलअघि पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले बल आफ्नो नियन्त्रणमा राखेर नै रक्षात्मक खेल खेल्ने बताएका छन्। ‘स्पेन एउटा उत्कृष्ट टोली हो। हामी दुवैलाई बल आवश्यक पर्छ र हामी बल आफ्नो नियन्त्रणमा राखेर नै रक्षात्मक खेल खेल्नेछौं। आत्मविश्वास बढाउनका लागि हामीलाई बल चाहिन्छ। मलाई लाग्छ यो खेल नेसन्स लिगको खेल जस्तै हुनेछ,’ उनले भने। स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले तीव्र गतिमा र उच्च दबाबका साथ विपक्षीमाथि दबदबा कायम गर्ने बताएका छन्। ‘हामी हरेक दृष्टिले निकै मिल्दोजुल्दो विशेषता भएका दुई टोली हौँ,’ उनले भने, ‘हामी दुवै बल गुम्ने बित्तिकै तीव्र गतिमा र उच्च दबाबका साथ विपक्षीमाथि हावी हुन्छौँ।’ यी दुई टोलीहरू सन् १९२१ यता ४४ पटक आमनेसामने भइसकेका छन्। जसमा पोर्चुगलले मात्र ७ पटक जित हात पारेको छ। १९ खेल स्पेनले जित्दा १८ खेल बराबरीमा सकिएका छन्। यी दुई टोलीबीच पछिल्लो पटक सन् २०२५ को यूईएफए नेसन्स लिगको फाइनलमा मुठभेड भएको थियो। निर्धारित समयमा २–२ को बराबरीपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ स्पेनलाई हराउँदै पोर्चुगलले नेसन्स लिगको उपाधि जितेको थियो। विश्वकपमा भने सन् २०१८ मा यी दुई टोलीले प्रतिस्पर्धा गरेका थिए। समूह चरणमा उक्त खेल ३–३ को बराबरीमा सकिएको थियो। उक्त खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए।