Skip to main content

अण्डा बिग्रिएको छ कि छैन? घरमै जाँच गर्ने तरिका

अण्डा धेरै जनाको दैनिक आहारमा पर्छ। विभिन्न पोषक तत्वहरूले भरिपूर्ण अण्डा बालबालिका देखि वृद्धजनसम्मका लागि उपयोगी आहार हो। लगातार १-२ वटा किन्न भन्दा, धेरैजसोले सस्तो र सजिलो हुने भएर एकैपटक केही दिन वा एक महिनाका लागि पुग्नेगरी एउटा क्रेट वा त्योभन्दा बढी अण्डा किनेर राख्ने गर्छन्। घरमा राख्दा अण्डा बिग्रिन सक्छ। विशेष गरी गर्मी मौसममा छिटो बिग्रने जोखिम बढी हुन्छ। बिग्रिएको अण्डा सेवन गर्दा पोषण लाभ हुँदैन र यसले स्वास्थ्यसम्बन्धी समस्याहरू पनि निम्त्याउन सक्छ।

अण्डा सेवनयोग्य छ कि छैन भनेर प्रयोगशालामा जाँच गर्न सकिन्छ, तर सबैका लागि सधैं सम्भव हुँदैन। त्यसैले घरमै केही घरेलु तरिकाले अण्डा ताजा छ कि छैन भनेर बुझ्न सकिन्छ। एउटा गिलास वा अलि गहिरो कचौरामा पानी राख्नुहोस् र अण्डा त्यसमा डुबाउनुहोस्। यदि अण्डा तेर्सो वा सुतिसकेको अवस्थामा डुब्दछ भने त्यो ताजा हो भन्ने बुझ्नुपर्छ। तर अण्डा ठाडो उभिएमा त्यो पुरानो वा बिग्रिएको हुनसक्छ।

अण्डा हल्लाएर जाँच्ने विधि पनि छ। अण्डालाई कानको नजिक लगाएर बिस्तारै हल्लाउनुहोस्। भित्रबाट कुनै आवाज आएन भने त्यो ताजा हो। आवाज सुनिएमा अण्डामा केही खराबी हुनसक्ने सङ्केत हुन्छ। यो उपाय अण्डा नफुटाई जाँच गर्न प्रयोग गर्न सकिन्छ। यस्तै, अण्डा फुटाएर पनि गुणस्तर जाँच गर्न सकिन्छ। अण्डालाई खोलेर कचौरामा राखी त्यसको भित्री भाग हेर्नुस्। अण्डाको सेतो भाग र पहेँलो भागको विचमा स्पष्ट भिन्नता हुनु आवश्यक छ। सेतो भागको बीचमा पहेँलो भाग गोलो र स्पष्ट हुनु पर्छ। यदि सेतो भाग धेरै पातलो छ र पहेँलो भाग फैलिएको छ भने अण्डा धेरै पुरानो हुनसक्छ।

गन्धबाट पनि अण्डाको ताजा वा बिग्रिएको अवस्था चिन्न सकिन्छ। बिग्रिएको अण्डाले नराम्रो र सडेको खाना जस्तो गन्ध आउँछ। यस्तो अण्डा प्रयोग नगर्नु राम्रो हुन्छ। गर्मीमा अण्डालाई केही दिनसम्म बिग्रिन नदिन फ्रिजमा राख्न सुझाव दिइन्छ। फ्रिजमा उचित तापक्रममा राखिएमा अण्डा सामान्यतया ३ देखि ५ हप्तासम्म टिक्न सक्छ। पोषण लाभका लागि सकेसम्म छिटो अण्डा प्रयोग गर्नु उत्तम हुन्छ।