२२ असार, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा घरजग्गा कारोबारमा सुधार देखिएको छ। गत आर्थिक वर्षको सोही त्रैमाससँग तुलना गर्दा चालु आवको उक्त अवधिमा कारोबार रकम करिब दोब्बर वृद्धि भएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा खरिद बिक्री भएको केन्द्रीय बैंकले जनाएको छ। आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १ खर्ब रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको थियो। चालु आवको तेस्रो त्रैमासमा घरजग्गा कारोबार गर्ने संख्या अघिल्लो आवको सोही अवधिसँग तुलना गर्दा ६.४२ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ। अघिल्लो आवमा सोही अवधिमा कारोबार संख्या ४.५२ प्रतिशतले घटेको थियो।
चालु आवको तेस्रो त्रैमासमा लिखतपारित अन्तर्गतको कारोबार संख्या ०.६२ प्रतिशतले बढेको छ भने गत आवको सोही अवधिमा यस्ता कारोबार संख्या ६.७१ प्रतिशतले घटेको थियो। केन्द्रीय बैंकका अनुसार, चालु आवको तेस्रो त्रैमासमा लिखतपारित राजीनामा कारोबार संख्या १२.१७ प्रतिशतले वृद्धि भएको छ भने गत आवको सोही अवधिमा यो संख्या ३.२६ प्रतिशतले घटेको थियो। सोही अवधिमा कारोबार भएको कुल क्षेत्रफल १.६० प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ। गत आवमा त्यसै अवधिमा क्षेत्रफल १०.८४ प्रतिशतले घटेको थियो।
गत माघ महिनादेखि चैतसम्म घरजग्गा कारोबारबाट सङ्कलन भएको राजस्व २३.७२ प्रतिशतले बृद्धि भएको छ भने गत आवको सोही अवधिमा राजस्व १३.४७ प्रतिशतले बढेको थियो। चालु आवको तेस्रो त्रैमासमा घरजग्गा कारोबारबाट सङ्कलित पूँजीगत लाभकर ३१.४२ प्रतिशतले वृद्धि भएको छ। गत आवमा यो कर १८.३१ प्रतिशतले वृद्धि भएको थियो। सो त्रैमासमा घरजग्गामा प्रवाह भएको बैंक कर्जा ५.५५ प्रतिशतले बढेको छ भने गत आवमा बैंक कर्जा ७.५२ प्रतिशतले वृद्धि भएको थियो।
बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३.०१ प्रतिशतले वृद्धि भएको छ भने मधेश प्रदेशमा ४.७९ प्रतिशतले घटेको छ। अन्य सबै प्रदेशमा कारोबार संख्या वृद्धि भएको छ। घरजग्गा कारोबार भएको कुल क्षेत्रफल गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशतले वृद्धि भएको छ भने मधेश प्रदेशमा सबैभन्दा धेरै ९.३३ प्रतिशतले घटेको छ। तेस्रो त्रैमासमा सातै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य गत आवको सोही अवधिसँग तुलना गर्दा वृद्धि भएको छ। बागमती प्रदेशमा सबैभन्दा धेरै १३१.५२ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम २२.६७ प्रतिशतले कारोबार मूल्य बढेको छ।

