२२ असार, काठमाडौं । सरकारले उद्योगी तथा व्यवसायीलाई तुरुन्तै बजार मूल्य घटाउन निर्देशन दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता सङ्गठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल बजार मूल्य घटाउन निर्देशन दिएकी छन्। मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेको हुँदा नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन्।
बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसायी महासङ्घ र चामल, दाल, तेल व्यवसायी महासङ्घका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा व्यवसायीहरूले आफ्नो व्यवसायिक समस्या र गुनासोहरू मन्त्री समक्ष राखेका थिए। व्यवसायीका गुनासो सुनेपछि मन्त्री यादवले अहिलेको अनियन्त्रित बजार मूल्यका कारण सर्वसाधारण नागरिक चरम मारमा परेको उल्लेख गर्दै कुनै पनि बहानामा ढिलाइ नगरी मूल्य घटाउन निर्देशन दिइन्।
उनले नुन, तेल, चामलदेखि हरियो तरकारीसम्मका अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरणलाई सहज बनाएर तत्कालै बजारको वास्तविक अवस्था हेरेर मूल्य घटाउन आग्रह गरिन्। सरकार र प्रधानमन्त्री बालेन्द्र शाहको पनि चासो रहेकाले बजारलाई यथाशक्य चाँडो उपभोक्तामैत्री बनाउन मन्त्रालय लागिपर्नुपर्ने उनको भनाइ थियो। मन्त्रीको निर्देशन र बजारको वस्तुस्थितिलाई बुझ्दै बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले यस विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन्, मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उद्योगी तथा व्यवसायीले आम उपभोक्तालाई राहत दिने गरी बजार मूल्य घटाउने कार्यमा सरकारलाई पूर्ण सहयोग गर्ने र आवश्यक कदम उठाउने प्रतिबद्धता जनाएका छन्।

