पूर्वी चीनको एक अदालतले विगत ३० वर्षमा २.२ अर्ब युआन (३२ करोड ५० लाख डलर) भन्दा बढी रकम घुस लिएको आरोपमा एक भूतपूर्व नगर अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ। सन् १९९३ देखि २०२३ सम्म नान्जिङ सहरमा विभिन्न पदमा कार्यरत रहेको ६९ वर्षीय याङ यूलिनलाई रकम हिनामिना, पदको दुरुपयोग र सम्पत्ति शुद्धीकरणमा संलग्न भएको आरोपमा दोषी ठहर गरिएको छ। उनले गैरकानुनी रूपमा आर्जन गरेको रकम हालका वर्षहरूमा यस प्रकारको सबैभन्दा ठूलो रकममध्ये एक मानिएको छ। चीन सरकारको नियन्त्रित सञ्चार माध्यमका अनुसार उनले रकम र बहुमूल्य वस्तुहरू लिएर अरूलाई ठेक्का दिन, जग्गा उपलब्ध गराउन र आर्थिक सहायता जुटाउन पदको दुरुपयोग गरेका थिए।
राष्ट्रपति सी जिन्पिङको भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत याङमाथि अनुसन्धान गरिएको थियो। यस अभियानमा सैन्य अधिकारीदेखि उच्च तहका बैंकिङ क्षेत्रका कर्मचारीसम्म समावेश छन्। चाङ्जो सहरस्थित अदालतले सोमबार जनाएअनुसार याङले “अत्यन्तै गम्भीर अपराध” गरेका थिए र “राज्य तथा जनताको हितमा असाधारण ठूलो क्षति पुर्याएका थिए।” राष्ट्रपति सी जिन्पिङ सत्तामा आएदेखि भ्रष्टाचारविरुद्ध यो अभियान चलाएर आएका छन्, तर आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीलाई पाखा लगाउने उपकरणको रूपमा समेत उपयोग गरिएको ठान्छन्।
चीनमा आर्थिक तथा व्यावसायिक अपराधका लागि हतपत मृत्युदण्डको सजाय सामान्यतया दिइँदैन। तर १ अर्ब युआनभन्दा बढी रकम संलग्न हुँदा कहिलेकाहीँ मृत्युदण्डको फैसला सुनाइन्छ। यसअघि भूतपूर्व आर्थिक अधिकारी लाइ शाओमिनलाई सन् २०२१ मा १.८ अर्ब युआन घुस लिएको आरोपमा मृत्युदण्ड दिइयो। उनी २०१८ मा पक्राउ परेका थिए। इनर मङ्गोलियाका भूतपूर्व अधिकारी लि जिआन्पिङले ३ अर्ब युआनभन्दा बढी रकम घुस लिएको अभियोगमा २०२४ मा मृत्युदण्ड पाएका थिए।
अदालतहरूले धेरै मामिलामा जेल सजाय वा निलम्बित मृत्युदण्डको फैसला सुनाएका छन्, जसले निश्चित अवधिपछि आजीवन कारावासमा परिणत हुन्छ। दोषीले अन्य अपराधीहरूको विवरण दिएर सहयोग गरेमा सजाय घटाउने उदाहरणहरू पनि छन्, र याङले पनि अधिकारीहरूलाई सहयोग गरेका थिए। तर अदालतले उनको अपराध अत्यन्त “गम्भीर” भएको कारण सजाय घटाउन पर्याप्त नभएको जनाएको छ। चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार याङले आफ्नो गल्ती स्वीकार गर्दै अन्तिम बयानमा आफ्नो कार्यप्रति “गहिरो पश्चात्ताप” व्यक्त गरेका थिए।

