Skip to main content

नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित २३ जना दोषी ठहर

लेख जानकारीबहुचर्चित नक्कली शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा पूर्वमन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित २३ जना आरोपितलाई काठमाण्डौं जिल्ला अदालतले दोषी ठहर गरेको अदालतका एक अधिकारीले जानकारी दिए। न्यायाधीश तेजबहादुर खड्काको इजलासले केहीबेरअघि उक्त फैसला सुनाएको सूचना अधिकारी शिव खतिवडाले बताए। “सातजनालाई सफाइ दिलाइएको छ, बाँकीमाथि दोषी ठहर गरिएको छ,” उनले भने। सजाय निर्धारण भने बाँकी रहेको उनले जानकारी दिए। “सजाय निर्धारणका लागि असार २९ गते अर्को पेसी तोकिएको छ,” खतिवडाले भने।

साथै उनले रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई सफाइ दिइएको जानकारी दिए। मुद्दाको पृष्ठभूमि जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौंले २०८० साल जेठ १० गते नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूलाई लिखत किर्ते, राज्यविरुद्धको कसुर र ठगी सहितको संगठित अपराध आरोप लगाइएको थियो। यस मुद्दामा कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो।

यसअघि प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले आठ सदस्यीय टोली गठन गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जना विरुद्ध विभिन्न अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो। काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २७ करोड ५० लाख ५७ हजार रुपैयाँ बिगो असुल गर्न सिफारिस गरेको थियो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा दुई पूर्वमन्त्री, एक बहालवाला सचिवसहित असल दर्जाको सरकारी कर्मचारी र उक्त गिरोहसँग जोडिएका व्यक्तिहरूलाई मुद्दा चलाउने सिफारिस गरिएको थियो।